• २०८३ भदौ ३
  • 2026 August 19, Wednesday

साउनमा मात्रै ५० हजार मेट्रिक टन एलपी ग्यास आयात

काठमाडौं । नेपाल आयल निगमले ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात गरेको छ । निगमले बुधबार एक सार्वजनिक गरेको तथ्यांक अनुसार ग्यासको आपूर्ति बढ्दै गएको देखाएको हो ।

निगमका अनुसार २०८२ चैतमा ३५,७९९.४५ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। उक्त महिनामा करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर बजारमा गएको थियो।

त्यस्तै, २०८३ वैशाखमा ३२,०५६.४४ मेट्रिक टन ,जेठमा ३२,५४२.२९ मेट्रिक टन , असारमा ४४,४४४.४० मेट्रिक टन र साउनमा ५०,३९६.३५ मेट्रिक टन एलपी ग्यास आयात भएको निगमको तथ्यांकमा उल्लेख छ।

यसरी हेर्दा पछिल्लो पाँच महिनामध्ये साउनमा एलपी ग्यासको आयात सबैभन्दा उच्च देखिएको छ। साउनमा मात्रै ५० हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको निगमले जनाएको छ।

निगमका अनुसार साउन महिनामा ४० लाखभन्दा बढी सिलिन्डर बजारमा आएको छ। यसले पछिल्लो समय एलपी ग्यासको आयात तथा बिक्री/वितरण बढिरहेको तथ्यांकबाट देखिन्छ।

निगमले पछिल्लो पाँच महिनाको एलपी ग्यास आयात तथा बिक्री र त्यसअनुसार बजारमा आउने सिलिन्डर संख्याको तुलनात्मक अध्ययन गर्दा साउन महिनामा अघिल्लो महिनाको भन्दा करिब ९ लाख सिलिन्डर बढी बिक्री वितरण भएको जनाएको छ।

निगमले आगामी दिनमा समेत एलपी ग्यासको आयात तथा बिक्री/वितरण नियमित रूपमा भइरहने स्पष्ट पारेको छ। त्यसैले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले आग्रह गरेको छ।

ग्यासको आपूर्ति नियमित भइरहेकाले बजारमा अभाव हुने आशंकामा उपभोक्ताले अनावश्यक रूपमा ग्यास थुपार्दा कृत्रिम अभाव सिर्जना हुन सक्ने निगमको संकेत छ। निगमले उपलब्ध तथ्यांकलाई आधार बनाएर उपभोक्तालाई संयमित हुन र आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको हो।

आयल निगमको पछिल्लो तथ्यांकले बजारमा ग्यासको आपूर्ति घटेको भन्दा पनि पछिल्लो महिनामा आयात र बिक्री/वितरणको मात्रा उल्लेख्य रूपमा बढेको देखाएको छ।