काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले ‘एक्लो’ भएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै प्रधानमन्त्री कवि र कलाकार पनि भएको बताउदै अन्य अर्थ नलगाउन आग्रह गरेका छन् ।
रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले लामिछानेले त्यस स्टाटसमा प्रधानमन्त्रीको कवि भावना पोखिएको टिप्पणी गरेका हुन् ।
उनले भने- ‘दुईजनाबीच झगडा पर्यो भनेर लेख्नुहुन्छ हामीलाई रमाइलो लाग्छ । तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ । त्यसैले समाचार लेख्न नरोक्नुहोला, प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो । यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन । यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ ?’
उनले आजको छलफललाई संसदीय दलको बैठक नभई संसदमा पार्टीको प्रस्तुतिलगायत विषयमा गरिएको आन्तरिक छलफल भएको जानकारी दिए । लामिछानेले संसदमा रास्वपाका सांसदहरू कसरी प्रस्तुत भइरहेका छन् भन्ने विषयमा पार्टीभित्र छलफल गरिएको बताउदै संसदमा प्रस्तुत हुने विषय र त्यसको प्रस्तुतीकरणबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले पार्टीभित्र समीक्षा गरिएको बताए ।