• २०८३ भदौ ४
  • 2026 August 20, Thursday

४० ट्रिलियन डलर नाघ्यो अमेरिकाको राष्ट्रिय ऋण, जीडीपीको १२५ प्रतिशत

एजेन्सी। अमेरिकाको राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघेको छ। अमेरिकी ट्रेजरी विभागको तथ्यांकअनुसार १८ अगस्टसम्म अमेरिकाको कुल सार्वजनिक ऋण ४०.०५ ट्रिलियन डलर पुगेको हो।

एक दशकअघि सन् २०१६ मा अमेरिकाको राष्ट्रिय ऋण २० ट्रिलियन डलरभन्दा केही कम थियो। पछिल्लो एक दशकमा उक्त ऋण दोब्बरभन्दा बढी भएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनका प्रशासनका पालामा भएको उच्च सरकारी खर्चसँगै ऋणको ब्याज भुक्तानी बढ्दै जाँदा राष्ट्रिय ऋण तीव्र गतिमा बढेको हो।

कंग्रेसनल बजेट अफिस (सीबीओ) ले सन् २०२६ को आर्थिक वर्षको अन्त्यसम्म अमेरिकी ऋण ३९.६ ट्रिलियन डलर पुग्ने अनुमान गरेको थियो। तर अनुमानभन्दा छिटो ऋण ४० ट्रिलियन डलर नाघेको छ।

सीबीओका अनुसार अमेरिका अहिले ४१.१ ट्रिलियन डलरको ऋण सीमाको नजिक पुगेको छ। सन् २०३६ सम्ममा अमेरिकी राष्ट्रिय ऋण करिब ६४ ट्रिलियन डलर पुग्न सक्ने अनुमान गरिएको छ।

सरकारले बजेट घाटा पूर्ति गर्न थप ऋण लिँदै जाँदा त्यसको प्रभाव ब्याजदर र मुद्रास्फीतिमा समेत देखिएको छ।

अमेरिकी सरकारको दीर्घकालीन ऋणको ब्याजदरसमेत उच्च भएको छ। ३० वर्षे अमेरिकी ट्रेजरी बन्डको प्रतिफल मंगलबार ५.३४ प्रतिशत पुगेको थियो। यो करिब दुई दशकयताकै उच्च स्तर हो।

बन्डको प्रतिफलले सरकारसँगै निजी क्षेत्र र उपभोक्ताले ऋण लिँदा तिर्नुपर्ने ब्याजदरलाई समेत प्रभावित गर्छ। यसको असर घरको मोर्गेज, गाडी कर्जा र क्रेडिट कार्डको ब्याजमा पर्छ।

पछिल्लो समय तेलको मूल्य बढ्नु, मुद्रास्फीतिको जोखिम र अमेरिकी सरकार तथा विश्वभरका कम्पनीहरूले ठूलो मात्रामा ऋण उठाउनुका कारण बन्डको प्रतिफल बढेको विश्लेषण गरिएको छ।

यसका साथै कृत्रिम बौद्धिकता (एआई) विकासका लागि प्रविधि कम्पनीहरूले ठूलो रकम ऋण लिइरहेकाले त्यसको प्रतिफल र लगानी फिर्ता हुने समयबारे पनि लगानीकर्तामा चिन्ता छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार अमेरिकाको कुल ऋण उसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १२५.८ प्रतिशत बराबर छ।

यो विश्वका ठूला अर्थतन्त्रमध्ये सबैभन्दा उच्च ऋण अनुपातमध्ये एक हो।

बेलायतको ऋण जीडीपीको अनुपात १०३.६ प्रतिशत र चीनको १०६.९ प्रतिशत रहेको आईएमएफको तथ्यांक छ।

विश्वका प्रमुख अर्थतन्त्रमध्ये जापानको ऋण भार सबैभन्दा बढी छ। वृद्ध जनसंख्या र कमजोर आर्थिक वृद्धिलाई सम्बोधन गर्न दशकौँदेखि भएको उच्च सरकारी खर्चका कारण जापानको ऋण जीडीपी अनुपात २०० प्रतिशतभन्दा माथि छ।