काठमाडौं । नेपाल डिस्टिलरिज प्रा. लि. (एनडीपीएल) ले नेपाली ब्रान्ड निर्माण र सिर्जनशीलताको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान जितेको छ । यी सम्मानमा दुई स्वर्ण, एक रजत र प्रतिष्ठित दक्षिण एसिया ग्रान्ड प्रिक्स समावेश छन् ।
यी अवार्डहरू भारतको नयाँ दिल्लीमा आयोजित फ्लेम अवाड्र्स एसिया २०२६ समारोहमा प्रदान गरिएको हो । दक्षिण एसियाभरका अनुभवात्मक मार्केटिङ, ब्रान्ड सक्रियता, उपभोक्ता संलग्नता तथा नवीनताका क्षेत्रमा उत्कृष्ट कामलाई सम्मान गर्ने यस अवार्डमा एनडीपीएलका दुई प्रमुख ब्रान्डका अभियानले उल्लेखनीय सफलता हासिल गरेका हुन्। यी अभियानहरूको सिर्जनात्मक एजेन्सी आउटरीच नेपाल रहेको छ ।
अभियानअन्तर्गत ‘मेरो खुकुरी’ ले ‘दक्षिण एसिया इमर्जिङ मार्केट’ र ‘दक्षिण एसिया लास्ट-माइल इनोभेसन’ विधामा गरी दुई स्वर्ण जितेको छ। यो अभियान पुस्तौँदेखि उपभोक्ताले कायम राख्दै आएको ब्रान्डसँगको गहिरो सम्बन्धमा आधारित थियो।
त्यसैगरी, समारोहको सबैभन्दा ठुलो सम्मान न्युडको ‘जस्ट बी यु’ ले ‘दक्षिण एसिया ग्रान्ड प्रिक्स’ जितेर प्राप्त गरेको छ। व्यक्तिगत पहिचान र आत्म-अभिव्यक्तिको अवधारणामा आधारित यस अभियानले सांस्कृतिक रूपमा सान्दर्भिक सञ्चारको प्रभावलाई प्रस्तुत गरेको छ।
यसै उपलब्धिमा थप योगदान गर्दै ‘पोखरा फ्ल्यास मोब’ ले ‘दक्षिण एसिया स्मल बजेट क्याम्पेन’ विधामा रजत अवार्ड हात पारेको छ। यी उपलब्धिले नेपाली उपभोक्ताबाट प्रेरित सिर्जनात्मक विचारले दक्षिण एसियाली मञ्चमा आफ्नो बलियो स्थान बनाउन सक्छन् भन्ने विश्वासलाई अझ मजबुत बनाएका छन्।