• २०८३ कार्तिक १८
  • 2026 November 04, Wednesday

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ।

आज (बुधबार) नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेलसँग भेटघाट गरी उक्त सामग्री हस्तान्तरण गर्नुका साथै नाडाका समसामयिक विषयहरूमा छलफलसमेत गरेको छ।

भेटघाटको क्रममा नाडाका अध्यक्ष उप्रेतीले राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिहरूमा सम्बन्धित संघ-संस्था तथा कार्यालयहरूलाई आवश्यकताअनुसार सहयोग उपलब्ध गराउँदै आएको बताए। यस प्रकारका रचनात्मक तथा सहयोगात्मक गतिविधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायहरूसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास नाडाले लिएको छ।

उक्त भेटघाट तथा सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्यद्वय दिपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।

नाडाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगात्मक गतिविधिहरूलाई निरन्तरता दिँदै सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।