काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ यात्रामा निस्किएका छन् । प्रधानमन्त्री शाह शुक्रबार अपराहन्न धादिङको गजुरीस्थित नेपाली सेनाको भैरवनाथ गणमा केही समय रोकिएर फेरी पोखरातर्फ लागेका हुन् ।
उच्च सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह निजी यात्रामा निस्किका छन् । निजी यात्रा भएकाले जिल्लाका सुरक्षा निकायमा कुनै खबर नगरिएको बताइएको छ । कास्कीको सुरक्षा संयन्त्रले पनि प्रधानमन्त्रीको आगमन बारे कुनै पूर्व जानकारी नभएको बताएको छ ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री शाह निजी भ्रमणका क्रममा मुस्ताङस्थित खम्पा गुम्बा दर्शन गर्न गएको बताउँदै उनले निजी भ्रमणमा प्रधानमन्त्रीले ठूलो संख्यामा सुरक्षाकर्मीको टोली लिएर हिँड्नैपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री सुरक्षाकर्मीबिना मुस्ताङ गएको विषयमा चर्चा भइरहेको भन्दै शाहीले कम्तीमा केही समय प्रधानमन्त्रीलाई आफ्नो निजी समय र व्यक्तिगत जीवनमा स्वतन्त्र रूपमा हिँडडुल गर्न दिन आग्रह गरेका छन् ।
उनले हरेक विषयलाई राजनीतिक रंग दिएर हल्ला गर्नु आवश्यक नरहेको बताएका छन् ।