काठमाडौँ । बेल्जियमका २६ वर्षीय कार सेल्सम्यान क्लेमेन्ट भान्डेनकेर्खोभको जीवन एकाएक बदलिएको छ । राजकुमार लोरेन्टले डीएनए परीक्षणपछि उनलाई आफ्नो जैविक तथा कानुनी छोरा स्वीकार गरेका छन् । यससँगै भान्डेनकेर्खोभ बेल्जियमका राजा फिलिपका भतिजा बनेका छन् ।
अब उनलाई राजकुमारको उपाधि प्राप्त हुनेछ भने राजकुमार लोरेन्टको निजी सम्पत्तिमा उनका सौतेनी दाजुभाइ तथा दिदीबहिनीसँग बराबरको उत्तराधिकार अधिकार हुनेछ । तर उनले राजकीय भत्ता पाउने छैनन् । साथै, उनलाई कुनै औपचारिक राजकीय जिम्मेवारी वा बेल्जियमको राजसिंहासनमा उत्तराधिकारको अधिकार पनि हुने छैन ।
समाचारअनुसार, ६३ वर्षीय राजकुमार लोरेन्टले करिब छ महिनाअघि एउटा सानो नगर भवनमा भएको निजी समारोहमा भान्डेनकेर्खोभलाई कानुनी रूपमा आफ्नो छोरा र उत्तराधिकारीका रूपमा स्वीकार गरेका थिए । उक्त घटना अहिले सार्वजनिक भएको हो । कानुनी मान्यता पाएसँगै भान्डेनकेर्खोभले लोरेन्टकी २० वर्षीया छोरी राजकुमारी लुइस तथा २० वर्षीय छोरा राजकुमार निकोलस र १९ वर्षीय छोरा राजकुमार आयमेरिकसँग बराबर निजी सम्पत्तिमा उत्तराधिकार पाउने अधिकार प्राप्त गरेका छन् ।
भान्डेनकेर्खोभको नामसँग अब राजकुमारको उपाधि जोडिनेछ । तर उनलाई राजकीय भत्ता दिइने छैन । उनी कुनै औपचारिक राजकीय जिम्मेवारीमा रहने छैनन् र बेल्जियमको राजसिंहासनको उत्तराधिकारमा पनि उनको स्थान हुने छैन ।
उनले आफ्नो पारिवारिक थर परिवर्तन गरेर स्याक्स कोबर्ग परिवारको थर अपनाउने वा नअपनाउने विषयमा भने निर्णय गरिसकेका छैनन् । उनले हालै बेल्जियमको एक समाचारपत्रसँग आफूलाई आफ्नो वर्तमान थरप्रति गर्व रहेको बताएका थिए । आमाले आफ्नो जीवनका लागि गरेको योगदानका कारण थर परिवर्तन गर्नु आमाप्रति अन्याय हुने उनको भनाइ थियो ।
भान्डेनकेर्खोभको जन्मसँग जोडिएको रहस्य धेरै वर्षसम्म गोप्य रह्यो । गत सेप्टेम्बरमा प्रसारित एक वृत्तचित्रमार्फत उनले सार्वजनिक रूपमा राजकुमार लोरेन्ट नै आफ्नो जैविक पिता भएको पुष्टि गरेका थिए । भान्डेनकेर्खोभको जन्म सन् २००० को अगस्टमा बेल्जियमकी गायिका तथा सामाजिक व्यक्तित्व वेन्डी भान भान्टनबाट भएको थियो । उनको जन्मनाम आइरिस भान्डेनकेर्खोभ रहेको बताइएको छ ।
वेन्डी भान भान्टन र राजकुमार लोरेन्टबीच सन् १९९० को दशकमा चर्चित सम्बन्ध रहेको थियो । उनीहरूको भेट पेरिसमा आयोजित एक फेसन प्रदर्शनीका क्रममा भएको बताइएको छ । पछि लोरेन्टले सन् २००३ मा राजकुमारी क्लेयरसँग विवाह गरेका थिए । भान्डेनकेर्खोभले वृत्तचित्रमा आफ्नी आमाले आफू १६ वर्षको हुँदा लोरेन्ट नै आफ्नो जैविक पिता भएको पहिलोपटक बताएको खुलासा गरेका थिए ।
आफ्नो वास्तविक बाबुबारे थाहा पाएको करिब चार वर्षपछि भान्डेनकेर्खोभले साहस जुटाएर लोरेन्टलाई फोन गरेका थिए । त्यसपछि उनीहरूबीच सम्पर्क बढ्दै गयो र अन्ततः दुवैले डीएनए परीक्षण गराए ।
परीक्षणमा उनीहरूबीच ९९.५ प्रतिशत जैविक मेल देखिएको थियो । अस्पतालमा परीक्षणका लागि जाँदा लोरेन्टले आफूले पहिले परीक्षण गराएर उनलाई सहज महसुस गराउने प्रयास गरेको भान्डेनकेर्खोभले बताएका छन् । त्यसपछि लोरेन्टले पनि सार्वजनिक रूपमा भान्डेनकेर्खोभ आफ्नो जैविक छोरा भएको स्वीकार गरेका थिए । उनका अनुसार पछिल्ला केही वर्षदेखि उनीहरूबीच निजी रूपमा कुराकानी हुँदै आएको थियो । भान्डेनकेर्खोभ र लोरेन्टको भेट सन् २०१३ मै एउटा किनमेल केन्द्रमा भएको रहेछ।
त्यतिबेला भान्डेनकेर्खोभलाई आफू अगाडि उभिएको व्यक्ति नै आफ्नो जैविक पिता हुन् भन्ने कुनै जानकारी थिएन । राजपरिवारसँगको सम्बन्ध सार्वजनिक हुनुअघि भान्डेनकेर्खोभको जीवन सामान्य थियो । उनी डेनाइजमा रहेको एउटा कार बिक्री केन्द्रमा कार बिक्रीकर्मीका रूपमा काम गर्थे ।
उनले चित्रकला तथा दृश्य सज्जासम्बन्धी अध्ययन गरेका छन् । उनलाई तीव्र गतिमा चल्ने कार र घोडाप्रति पनि रुचि रहेको बताइएको छ । तर अहिले उनको जीवन कार बिक्री गर्ने सामान्य युवकबाट बेल्जियमको राजपरिवारका सदस्यका रूपमा परिवर्तन भएको छ । भान्डेनकेर्खोभको कथा बेल्जियमको राजपरिवारमा वर्षौँदेखि लुकेको अर्को पारिवारिक विवादसँग पनि जोडिएको छ ।
उनका पिता लोरेन्टका पिता तथा बेल्जियमका पूर्वराजा अल्बर्ट द्वितीयले पनि लामो समय पितृत्वसम्बन्धी कानुनी विवाद सामना गरेका थिए । अल्बर्ट द्वितीयले सन् २०२० मा विवाहबाहिरको सम्बन्धबाट आफ्नो एक छोरी जन्मिएको स्वीकार गरेका थिए । ती छोरी डेल्फिन बोएल हुन् । लामो कानुनी संघर्षपछि उनले राजकुमारीको दर्जा प्राप्त गरेकी थिइन्। अहिले उनी डेल्फिन डी स्याक्स कोबर्ग नाम प्रयोग गर्छिन् ।
यसरी बेल्जियमको राजपरिवारमा एक पुस्ताअघि सुरु भएको पितृत्व विवादको कथा अर्को पुस्तामा पनि दोहोरिएको छ । तर यसपटक डीएनए परीक्षणपछि २६ वर्षीय भान्डेनकेर्खोभले कानुनी रूपमा आफ्ना पिता र राजपरिवार दुवैको मान्यता पाएका छन् ।