• २०८३ भदौ ८
  • 2026 August 24, Monday

दुर्गा प्रसाईं नेतृत्वको अभियानले भन्यो- सरकारसँगको १४ बुँदे सहमति मान्य छैन

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बैंक, सहकारी, लघुवित्त तथा मिटरब्याजपीडितका विषयमा भएको १४ बुँदे सहमति आफूहरूलाई मान्य नभएको जनाएको छ ।

अभियानले सर्लाहीको हरिवनबाट सुरु भएको पीडित नागरिकको पैदल यात्राका क्रममा काठमाडौं आइपुगेका नागरिकलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ । अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई घरमै नजरबन्दमा राखेर केही व्यक्तिलाई अघि बढाउँदै अभियान कमजोर पार्ने प्रयास गरिएको दाबि अभियानले गरेको छ ।

तत्कालीन प्रधानमन्त्री शुशिला कार्की र दुर्गा प्रसाईंबीच भएको १२ बुँदे सम्झौतालाई बेवास्ता गर्दै गरिएको १४ बुँदे सहमतिले पीडितका समस्या समाधान गर्नुको सट्टा झन् समस्या बढाउने काम गरेको अभियानले जनाउदै पीडित नागरिकलाई धैर्य गर्न आग्रह गर्दै आन्दोलन जारी रहेको बताएको छ ।

अभियानले वित्तीय पीडित नागरिकलाई नागरिकता, व्यक्तिगत विवरण वा अन्य कागजात कसैलाई नदिन पनि आग्रह गरेको छ । आधिकारिक निर्देशनबिना व्यक्तिगत विवरण संकलन नगर्न र नगराउन आग्रह गर्दै त्यस्ता विवरणको दुरुपयोगबाट पीडितलाई थप जोखिममा पर्न नदिन सावधानी अपनाउन अभियानले अनुरोध गरेको छ ।