• २०८३ भदौ ८
  • 2026 August 24, Monday

नागढुंगा सुरुङमार्गमा निजी सवारीलाई पनि आवागमन खुला

काठमाडौँ । नागढुंगा सुरुङमार्गमा सोमबारदेखि निजी कार, जिप र भ्यानलाई पनि आवागमन खुला गरिएको छ । यसअघि सुरुङमा आपत्कालीन, एम्बुलेन्स र सरकारी सवारीलाई मात्र सञ्चालनको अनुमति दिइएकोमा आजदेखि ९ सिटसम्मका निजी कार, जिप र भ्यानलाई पनि आवागमन खुला गरिएको हो ।

सुरुङ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ भने सुरुङभित्र सवारीको गति प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गर्न, सवारी रोक्न र ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ । सवारी चलाउँदा हेडलाइट बाल्न अनिवार्य गरिएको छ ।

सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा टोली, शुल्क संकलन तथा अन्य आवश्यक व्यवस्थापन गरिएको छ । सुरुङभित्र हुने गतिविधिको निगरानी दृश्य निगरानी प्रणालीमार्फत गरिनेछ । पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई सुरुङ प्रवेश निषेध गरिएको छ ।

सुरुङ प्रयोग गरेबापत कार तथा भ्यानले काठमाडौँतर्फ जाँदा ६५ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै मिनीबस र टिपरले काठमाडौँतर्फ जाँदा ११५ तथा बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले क्रमशः २६० र २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। हेभी ट्रकका लागि काठमाडौँतर्फ ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ ।

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । यसको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने २.५५७ किलोमिटरको आपत्कालीन सुरुङसमेत निर्माण गरिएको छ ।

२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । सुरुमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९, मुआब्जा विवादलगायत कारणले आयोजना सम्पन्न हुन ढिलाइ भएको थियो । सुरुङमार्गको साउन ११ मा नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले उद्घाटन गरेका थिए ।

जापान सरकारको ऋण सहयोग र नेपाल सरकारको लगानीमा निर्माण भएको यो सुरुङमार्ग जापानको हाज्मा आन्दो कर्पोरेसनले निर्माण गरेको हो ।