काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि प्रत्येक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था कानुनी रूपमा तय गर्ने तयारी भएको छ। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलका क्रममा यस्तो सहमति जुटेको हो।
सार्वजनिक गर्ने मिति निश्चित गरिएझैँ मौद्रिक नीति सार्वजनिक गर्ने मिति पनि कानुनमै तोक्ने विषयमा समितिमा सहमति बनेको हो।
यसअघि मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको केही समयपछि सार्वजनिक गर्ने अभ्यास थियो। पुरानो व्यवस्थाअनुसार आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था थियो। पछिल्ला वर्षमा भने मौद्रिक नीति सार्वजनिक गर्ने समयलाई आर्थिक वर्ष सुरु हुनुअघि नै ल्याउने अभ्याससमेत देखिएको छ। हालका गभर्नर डा. विश्वनाथ पौडेलको कार्यकालमा पनि अघिल्ला दुई मौद्रिक नीति आर्थिक वर्ष सुरु हुनुअघि सार्वजनिक गरिएको विवरण छलफलमा आएको छ।
अब प्रस्तावित कानुनी व्यवस्था कार्यान्वयनमा आएमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति स्पष्ट रूपमा साउन १ गते कायम हुनेछ। नेपालमा बजेट भने प्रत्येक वर्ष जेठ १५ गते सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।