काठमाडौं । अमेरिकाले इरानको अर्थतन्त्रका पाँच महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ । इरानले अन्य देशसँग आर्थिक गतिविधि सञ्चालन गर्न प्रयोग गर्ने डिजिटल सम्पत्ति, प्रविधि, सुन, हवाई तथा समुद्री यातायात क्षेत्रलाई लक्षित गर्दै अमेरिकाले प्रतिबन्ध घोषणा गरेको हो ।
अमेरिकाले यी क्षेत्रमा हुने कारोबारमार्फत इरानको आम्दानी र अन्तर्राष्ट्रिय व्यापारमा रोक लगाउने उद्देश्य राखेको छ । इरानसँग यी क्षेत्रमा कारोबार गरेर उसलाई आर्थिक लाभ पुर्याउने विदेशी मुलुकमाथिसमेत अमेरिकाले थप प्रतिबन्ध लगाउन सक्ने जनाइएको छ ।
यद्यपि, अमेरिकाले कुन कुन देशमाथि थप प्रतिबन्ध लगाउने भन्ने स्पष्ट गरेको छैन । चीन, टर्की र संयुक्त अरब इमिरेट्स भने इरानका प्रमुख व्यापारिक साझेदारका रूपमा रहेका छन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ‘आर्थिक बहिष्कार अभियान’ सुरु गरिएको बताएका छन् । उनका अनुसार यो अभियान इरान र उसका सहयोगी मुलुकविरुद्ध केन्द्रित हुनेछ । उनले इरानसामु अब विश्वबाट पूर्ण रूपमा अलग्गिएर सीमित अर्थतन्त्रमा बस्ने वा सामान्य अवस्थामा फर्कँदै विश्व अर्थतन्त्रमा पुनः सहभागी हुने अवसर रोज्ने विकल्प रहेको बताएका छन् ।
अमेरिकाले लगाउने थप प्रतिबन्धको असर इरानमा मात्र सीमित हुँदैन । कुनै विदेशी कम्पनीले अमेरिकाले प्रतिबन्ध लगाएको क्षेत्रमा इरानसँग कारोबार गरेमा त्यस्ता कम्पनीमाथिसमेत अमेरिकी कारबाही हुन सक्नेछ ।
अमेरिकाको प्रमुख दबाब उसको मुद्रा र बैंकिङ व्यवस्थामार्फत हुने गरेको छ । कुनै कम्पनीमाथि प्रतिबन्ध लगाएपछि अमेरिकी बैंक तथा कम्पनीसँग कारोबार गर्न कठिन हुन सक्छ । कतिपय अवस्थामा अमेरिकी वित्तीय प्रणालीमा त्यस्ता कम्पनीको पहुँचसमेत रोक्न सकिनेछ ।
यसका कारण भारतीय, चिनियाँ, टर्किस वा संयुक्त अरब इमिरेट्सका कम्पनीहरूलाई इरानसँग कारोबार जारी राख्दा अमेरिकी बजार र वित्तीय प्रणालीमा असर पर्न सक्ने जोखिम रहनेछ । यही जोखिमका कारण धेरै विदेशी कम्पनीहरूले अमेरिकी प्रतिबन्धमा पर्नबाट बच्न इरानसँगको कारोबार घटाउने वा दूरी बनाउने सम्भावना रहेको छ ।