काठमाडौँ । एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन्।
यस साझेदारीअन्तर्गत, रु. २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श सेवा लिन सक्नेछन्। त्यस्तै, रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।
मङ्गलबार आयोजित एक कार्यक्रममा एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
यस सहकार्यबारे बोल्दै दत्ताले भने, “नेपाल मेडिसिटीको स्वास्थ्य सेवालाई एनसेलका प्याकसँग जोडेर हामीले मोबाइल सेवा लिएका उपभोक्ता तथा प्रयोगकर्ताहरूलाई थप लाभ प्रदान गर्दैछौँ। यसमा निःशुल्क चिकित्सक परामर्श सेवादेखि परामर्श शुल्कमा उल्लेखनीय छुटसम्मको व्यवस्था रहेको छ। यो साझेदारीले हाम्रा ग्राहकहरूलाई केवल कनेक्टिभिटी मात्र नभई स्वस्थ जीवनका लागि पनि सहयोग सुनिश्चित गर्दछ। यो हाम्रा ग्राहकहरूका लागि साँच्चै महत्त्वपूर्ण हुनेछ र यो ग्राहकलाई लाभ प्रदान गर्ने हाम्रो प्रतिबद्धताको अर्को कदम हो।”
यस साझेदारीअन्तर्गतको सेवा लिन योग्य एनसेल ग्राहकहरूले एनसेल एपमा लगइन गर्नुपर्ने हुन्छ। त्यसपछि एपभित्र पार्टनर्ड सर्भिसेज खण्डमा गई नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्ने हुन्छ। एपले योग्य ग्राहकहरूले प्राप्त गर्ने सुविधाको विवरण स्वतः देखाउनेछ। योग्य नदेखिएका ग्राहकहरूले यसका लागि आवश्यक प्याक वा रेन्टल सेवा लिएर यस सुविधाको लाभ लिन सक्नेछन्।
यस्ता सहकार्यहरूले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताँउदै तोमरले भने “चिकित्सा सेवामा पहुँच प्रदान गर्नु मात्र नभएर यस साझेदारीले कसरी कर्पोरेट र स्वास्थ्य संस्थाहरूले मिलेर नेपालभरका समुदायहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सक्छन् भन्ने देखाउँछ ।”
यो सहकार्य कनेक्टिभिटीमा मात्र सीमित नभई विश्वसनीय ब्रान्ड तथा अत्यावश्यक सेवा प्रदायकहरूसँगको साझेदारीमार्फत ग्राहकहरूलाई सान्दर्भिक र अर्थपूर्ण सुविधाहरू उपलब्ध गराउने एनसेलको निरन्तर प्रयासको एक अंश हो। यस्ता पहलहरूमार्फत एनसेलले आफ्ना ग्राहकका लागि दैनिक जीवनमा थप मूल्य सिर्जना गर्दै उनीहरूको हित तथा कल्याणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।