काठमाडौं । नेपाली बजारमा भर्खरै सार्वजनिक भएको ‘नामी भिगो ई२’ (Nami Vogo E2) ले छोटो समयमै रेकर्ड बुकिङ प्राप्त गरेपछि कम्पनीले सुरुवाती अफर समाप्त भएको घोषणा गरेको छ । अत्यधिक मागका कारण एमएडब्लू वृद्धि मोटर्सले प्रदान गर्दै आएको २ लाख रुपैयाँको विशेष छुट योजना ६ दिनमै सकिएको हो ।
गत बुधबार सार्वजनिक गरिएको यो फुल साइज ईभी एसयूभीप्रति उपभोक्ताको आकर्षण उत्साहजनक देखिएको कम्पनीले जनाएको छ । माग यति उच्च भयो कि चाडपर्वका लागि लक्षित गरिएको कोटाभन्दा बढी बुकिङ ६ दिनमै प्राप्त भएपछि कम्पनीले अफर बन्द गर्ने निर्णय लिएको हो ।
कम्पनीका अनुसार विशेष छुट योजना समाप्त भएसँगै अब नामी भिगो ई२ को मूल्य ३७ लाख ९९ हजार रुपैयाँ (MRP) कायम भएको छ । विशेष अफर सकिए पनि एमआरपी मूल्यमा बुकिङ भने निरन्तर रहने कम्पनीले स्पष्ट पारेको छ ।

एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्तका अनुसार यो विशेष अफर नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपरेको थियो । पन्तले भने, “नेपाली उपभोक्ताबाट प्राप्त प्रतिक्रिया हाम्रो अपेक्षाभन्दा निकै उत्साहजनक रह्यो, छोटो समयमै प्राप्त भएको यो माया र विश्वासका लागि हामी सम्पूर्ण ग्राहकप्रति आभारी छौँ ।”
नामी भिगो ई२ मा यसअघिको लोकप्रिय मोडल ‘नामी ई२ प्लस’ का फिचरहरूलाई थप परिष्कृत गरिएको छ । आधुनिक डिजाइन, आकर्षक फिचर र प्रिमियम अनुभवका कारण यो गाडीले आफ्नो सेग्मेन्टमा नयाँ आकर्षण थपेको छ । कम्पनीले आगामी दिनमा पनि नेपाली ग्राहकको आवश्यकता र अपेक्षाअनुसार थप प्रतिस्पर्धी उत्पादनहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।