• २०८३ कार्तिक २६
  • 2026 November 11, Wednesday

बाढीपीडितका लागि भारतले पठायो थप ३७‍.५ टन राहत सामग्री, सहयोग जारी राख्ने प्रतिबद्धता

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको थप ३७.५ टन राहत सामग्री बोकेको दोस्रो विमान नेपालका लागि उडेकाे छ ।

भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत ३७.५ टन मानवीय सहायता, विपद् राहत सामग्री, औषधि र खाद्यान्न बोकेको विमान काठमाडौँतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्।

विदेशमन्त्री जयशङ्करले ‘भारत नेपालका अधिकारीहरूसँग निरन्तर र निकट सम्पर्कमा रहेको’ बताएका छन्। उनले जारी राहत प्रयासमा भारतले निरन्तर बलियो सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

यसअघि पनि उनले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका थिए। यसअघि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगिसकेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’लाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन्।