बागलुङ । बुधवार बिहान भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतको क्षेत्र बगाउँदा बागलुङका १० जना बेपत्ता भएका छन् । पहिलो दिन जानकारी नै नभएका परिवारका सदस्यले खोजी गर्दा सम्पर्क नभएपछि उनीहरु बाढीमा परेको आशंका छ ।
तमानखोला गाउँपालिकाका ९ जना र ढोरपाटन नगरपालिकाका १ गरी अहिलेसम्म १० जना बेपत्ता भएको पाइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । उनीहरुम्ध्ये ९ जना जलविद्युत आयोजनामा काम गर्ने र एक जना होटलमा काम गर्नेहरु छन् ।
उनीहरुको परिवार, स्थानीय र गाउँपालिकाले उक्त क्षेत्रको गाउँपालिकासँग पनि सम्पर्क गरेर उनीहरुको खोजी गरिरहेको जनाएको छ ।
सम्पर्कविहिन भएका अधिकांस युवाहरु अपर त्रिशुली जलविद्युत आयोजनाको काममा गएको परिवारका सदस्यहरुले जानकारी गराएका हुन् । उनीहरु कहिलेदेखि उक्त स्थानमा कार्यरत थिए भन्ने पत्ता लागेको छैन ।
पालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार अपर त्रिशुली जलविद्युत आयोजनामा काम गर्न गएका तमानखोला गाउँपालिका वडा नं. १ का ३७ वर्षीय पदमबहादुर घर्तीमगर, ३२ वर्षका इन्द्रकुमार विक, २२ वर्षका विष्णु घर्तीमगर छन् ।
वडा नं. २ का ३७ वर्षीय भिमबहादुर छन्त्याल, ५२ वर्षीय खड्ग छन्त्याल, वडा नं. ३ का २२ वर्षीय संजय शिर्पाली, ५० वर्षीय दलप्रसाद बुढा छन् । वडा नं. ४ का ५८ वर्षीय लाता कामी र ४७ वर्षिय भिमबहादुर विक पनि बेपत्ता छन् ।
ढोरपाटन नगरपालिका वडा नं. ९ का २० वर्षीय तुलबहादुर विक पनि सोही घटनामा बेपत्ता छन् । विक भने ५ वर्षदेखि रसुवाको स्याफ्रुबेसीस्थित एक होटलमा काम गर्दै आएको परिवारका सदस्यले बताएका छन् ।