• २०८३ भदौ १२
  • 2026 August 28, Friday

रसुवागढी हाइड्रोभित्र फसेका चार जनालाई सकुशल निकालियो, उद्धार डेडिकेटेड हेलिकप्टर परिचालन

काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ। उर्जा मन्त्रालयका अनुसार उद्धार गरिएका कर्मचारीहरुमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्।

प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर ल्याएको हो।

त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भए पनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।

यसैबीच, बाढीका कारण प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि आवश्यक सामग्रीसहित ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ। टनेलभित्र रहेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहितको टोली आयोजनातर्फ परिचालन गरिएको छ ।

माथिल्लो त्रिशुलि ३ ए (६० मे.वा.), जलविद्युत केन्द्रको मर्मतको क्रममा फसेका कर्मचारीहरुको उद्धार गर्न उक्त अण्डरग्राउण्ड पावर हाउस भित्र जाने केवल टनेलको पुरिएको मुख खोल्न नेपाली सेना र दक्ष जनशक्ति सहित उत्खनन कार्यमा आवश्यक उपकरणहरु प्रयोग गरि तिव्र रुपमा काम भईरहेको छ।