• २०८३ भदौ १२
  • 2026 August 28, Friday

रसुवा बाढी अपडेट : ५३८ शव फेला, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परि बगाएका पाँच सय ३८ वटा शव फेला परेको छ । शुक्रबार दिउँसो तीन बजेसम्म सुरक्षा निकायको सक्रियतामा ५३८ शव प्रभावित क्षेत्रबाट निकालिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार धेरै शव चितवनमा भेटिएका हुन् । चितवनबाट मात्रै दुई सय २१ वटा शव निकालिएको छ ।

त्यस्तै, नवलपरासी पूर्वबाट एक सय ३४ वटा, गोरखाबाट ४६ (विभिन्न मानव अंगसहित) वटा, नुवाकोटबाट ३७, धादिङबाट ३३ वटा, तनहुँबाट २८ वटा, नवलपरासी पश्चिमबाट २७ वटा र रसुवाबाट १२ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार दिउँसो तीन बजेसम्म ९ सय ७७ जना सम्पर्कविहीन भएको सूचना प्राधिकरणमा पुगेको छ ।

जसअनुसार रसुवाका एक सय ६१ जना, नेपाली सेनाका ४५ जना, प्रहरीका २८ जना, भन्सार कार्यालय रसुवाबाट १५ जना, सशस्त्र प्रहरीका १३ जना, अध्यागमन कार्यालय रसुवाबाट ४ जना र नुवाकोटबाट एक बेपत्ता भएका छन् ।

त्यस्तै, मकवानपुरका ६६ जना, विदेशी नागरिक पाँच सय १७ जना र नेपाल घुम्न आएका तर नेपाली नागरिक एक सय २७ जना बेपत्ता सूचीमा छन् ।

बाढीमा परेर ७३ जना घाइते भएका छन् । घाइते मध्ये ४३ जना रसुवाका, २७ जना नुवाकोटका र तीन जना धादिङका छन् ।

हालसम्म सुरक्षा निकायले तीन हजार सात सय ४२ जनाको उद्धार गरिसकेको छ । २५ जना विदेशी र बाँकी नेपालीको उद्धार भएको हो ।