काठमाडौँ। नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’ प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन्। चीनको सांघाईमा भएको बान्टमवेट सेमिफाइनलमा न्युजिल्यान्डका कसिब मर्डकलाई स्प्लिट डिसिजनमा पराजित गर्दै ढाँट उपाधि भिडन्तमा पुगेका हुन्।
तीन राउन्डसम्म चलेको प्रतिस्पर्धामा तीनमध्ये दुई जना निर्णायकले ढाँटको पक्षमा २९–२८ को स्कोर दिए। एक निर्णायकले भने समान स्कोरमा मर्डकलाई विजेता मानेका थिए। दुई निर्णायकको समर्थन पाएपछि ढाँटको जित निश्चित भएको हो।
सुरुआती दुई राउन्डमा दुवै खेलाडीबीच कडा प्रतिस्पर्धा भएको थियो। निर्णायक राउन्डमा ढाँटले आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि प्रभावशाली मुक्का प्रहार गरे। यही प्रदर्शनले उनलाई खेलको अन्तिम निर्णय आफ्नो पक्षमा पार्न महत्वपूर्ण भूमिका खेलेको थियो।
फाइनलमा ढाँटले जापानका र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई हराउँदै फाइनलको यात्रा तय गरेका हुन्।
यसअघि ढाँटले मे महिनामा भएको क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए। त्यसपछि मर्डकविरुद्धको कठिन भिडन्त पार गर्दै उनले अब यूएफसीसम्म पुग्ने अन्तिम अवसर हात पारेका छन्।
फाइनलमा ताजिमालाई पराजित गर्न सके ढाँटले यूएफसीमा प्रवेश गर्ने बाटो खोल्नेछन्। पछिल्लो जितसँगै ढाँटको व्यावसायिक एमएमए रेकर्ड ११–१ पुगेको छ भने मर्डकको अपराजित यात्रा पनि समाप्त भएको छ।
‘बझाङको बाघ’का रूपमा परिचित ढाँटले फाइनलअघि इन्डोनेसियाको बालीमा प्रशिक्षण पूरा गरेका थिए। त्यसपछि उनी अगस्ट २३ मा प्रतियोगिताका लागि चीनको सांघाई पुगेका थिए।