• २०८३ भदौ १५
  • 2026 August 31, Monday

बाढीका कारण प्रभावित ग्राहकलाई SUBISU को सेवा अवधि थप

काठमाडौं । हालै आएको बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई लक्षित गर्दै SUBISU ले सेवा अवधि थप गरेको छ।

कम्पनीका अनुसार बाढीका कारण कनेक्सनको म्याद समाप्त भएका प्रभावित ग्राहकलाई थप ७ दिनको सेवा अवधि उपलब्ध गराइएको हो।

भदौ १० गते आएको भीषण बाढीका कारण विशेषगरी भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्र प्रभावित भएका थिए। बाढीका कारण बाटर, चारौंदी, चौतारा, देवघाट, हुक्दीखोला, खाल्टे, खानिखोला, गल्छी, धार्के र मलेखुलगायतका क्षेत्रमा SUBISU का इन्टरनेट सेवामा असर परेको कम्पनीले जनाएको छ।

सेवा पुनःस्थापनाबारे SUBISU का प्रमुख सञ्चालन अधिकृत (COO) सुभाष अधिकारीले प्रभावित क्षेत्रमा नेटवर्क तथा इन्टरनेट सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिरहेको बताएका छन्। स्थानीय अवस्था तथा पहुँचलाई ध्यानमा राखेर सेवा पुनःस्थापनाको काम भइरहेको र फिल्डमा खटिएका प्राविधिक टोलीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ।

प्रभावित ग्राहकलाई सेवा अवरुद्ध भएका कारण थप क्षति नहोस् भन्ने उद्देश्यले अतिरिक्त सेवा अवधि प्रदान गरिएको कम्पनीले जनाएको छ।

सेवा तथा पुनःस्थापनासम्बन्धी जानकारीका लागि ग्राहकले SUBISU को ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्न सक्नेछन्। कम्पनीले प्रभावित क्षेत्रमा इन्टरनेट सेवा यथाशीघ्र पुनःस्थापना गर्न प्रतिबद्ध रहेको जनाएको छ।