काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशूली थ्री ‘बी’को सुरुङमा नेपाली सेनाले सोमबार पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ ।
नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलिकोष्टर लिएर नुवाकोटको त्रिशूली पुगेको थियो । त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकोप्ट लिएर माथिल्लो त्रिशूली थ्रि ‘बी’को सुरुङ क्षेत्रमा पुगेको थियो ।
उक्त टोलीले माथिल्लो त्रिशूली थ्रि ‘बी’को सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो ।
त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकीपश्चात उक्त टोलीले नेपाली सेनालाई बस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ १४ गते भने सो चिनियाँ टोली रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रीत भएको थियो ।
त्रिशूली थ्रि ‘बी’मा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीद्धारा खोज तथा उद्धारको प्रयास सुरु भएको थियो।
सोमबार पनि बिहान ९ बजे नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्र खन्ने काम भइरहेको छ। यो आयोजनाको सुरुङमा मानिसहरु फसेको आशंका गरिएको छ ।