काठमाडौं । शंकर समूहले राष्ट्रिय विपद्का बेला प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ४ करोड रुपैयाँ सहयोग गरेको छ। समूहका निर्देशक श्रीमती दीपा अग्रवाल तथा वरिष्ठ व्यवसायी टोलीले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो। समूहले विपद्बाट ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
शंकर समूहले विपद्को यस कठिन घडीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक, दाजुभाइ–दिदीबहिनी तथा सरकारी अधिकारीहरूले गरेको अथक प्रयासप्रति आभार व्यक्त गरेको छ।
यसैगरी, विपद्पीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले समूहले गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विपद्पीडित नागरिकका लागि रु. २५ लाख बराबरका २ हजार ५०० थान त्रिपाल सेट समेत उपलब्ध गराएको जनाएको छ।
शंकर समूहले राष्ट्रिय संकटका बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर अघि बढ्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै भविष्यमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।