• २०८३ भदौ १६
  • 2026 September 01, Tuesday

भोटेकोशी बाढीपछि २५ अर्ब ८७ करोडको प्रारम्भिक बीमा दाबी

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिमा १५ वटा बीमा कम्पनीमा गरी २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म प्राप्त विवरणमा ५८३ वटा बीमा दाबी परेको हो । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै दाबी दि ओरिएन्टल इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा ८ वटा दाबीबाट १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ ।

यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीबाट ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार, सानिमा जिआईसीमा १०२ वटा दाबीबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँको दाबी परेको छ ।

बीमालेखको प्रकारअनुसार सबैभन्दा ठूलो दाबी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा परेको छ । यसअन्तर्गत ५२ वटा दाबीबाट २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ ।

त्यस्तै, सम्पत्ति बीमामा ११३ वटा दाबीबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार, मोटर बीमामा ३१३ वटा दाबीबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार र परिवहन बीमामा ४७ वटा दाबीबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँको दाबी परेको प्राधिकरणले जानकारी दिएको छ ।