• २०८३ भदौ १७
  • 2026 September 02, Wednesday

बार्सिलोना भित्रिए गाब्रिएल जिसस

काठमाडौँ । बार्सिलोनाले आर्सनलका ब्राजिलियन फरवार्ड गाब्रिएल जिससलाई अनुबन्ध गरेको छ ।

बार्सिलोनाले जिससलाई भित्र्याउन करिब १ करोड १० लाख युरो खर्च्च गरेको बताइएको छ । जिससले बार्सिलोनासँग सन् २०२९ सम्मको तीन वर्षे सम्झौता गरेका छन् ।

बार्सिलोनाले यो स्थानान्तरणलाई बजारमा उपलब्ध अवसरका रूपमा लिँदै जिससलाई क्लबमा भित्र्याएको हो । २९ वर्षीय जिससले गत सिजन आर्सनलका लागि इङ्लिस प्रिमियर लिगका तीन खेलमा मात्र सुरुआती टोलीबाट खेलेका थिए । उनले १४ खेलमा तीन गोल गरेका थिए ।

पछिल्ला केही वर्षदेखि पटक पटक चोटबाट प्रभावित हुँदै आएका जिससले बार्सिलोनाको आक्रमणलाई बलियो बनाउने अपेक्षा गरिएको छ । बार्सिलोनाको अग्रपंक्तिमा अब रोबर्ट लेवान्डोस्की र फेरान टोरेस नरहेपछि जिससलाई महत्वपूर्ण खेलाडीका रूपमा हेरिएको छ ।

बार्सिलोनाले एटलेटिको म्याड्रिडका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने प्रयास सफल नहुने भएपछि जिससलाई भित्र्याएको विश्लेषण गरिएको छ ।