• २०८३ भदौ १७
  • 2026 September 02, Wednesday

बाढीमा उद्धारमा खटिएको ‘ग्रीन आर्मी’ को वास्तविकता के हो ?

काठमाडौं । पछिल्लो समय बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सैनिक शैलीको हरियो पोसाक लगाएर उद्धार तथा राहतमा खटिएको एउटा समूह देखिन थालेपछि धेरैको चासो बढेको छ । पोसाकमा ‘आर्मी’ लेखिएको र स्वयंसेवकहरू कडा अनुशासनमा परिचालित देखिएपछि कतिपयले उक्त समूहलाई नेपाली सेना वा अन्य सुरक्षा निकायको टोलीसमेत ठानेका छन् । तर, ‘ग्रीन आर्मी नेपाल’ नामको उक्त समूह सरकारी सुरक्षा निकाय नभई वातावरण संरक्षण र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी स्वयंसेवी संस्था भएको खुलेको छ ।

‘ग्रीन आर्मी नेपाल’ ले विशेषगरी युवालाई सामाजिक सेवासँग जोड्ने र विपद्का समयमा उद्धार तथा राहत कार्यमा राज्यका निकायलाई सहयोग गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गर्दै आएको जनाएको छ । बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का समयमा आवश्यक जनशक्ति परिचालन गर्न सक्ने स्वयंसेवक तयार पार्ने संस्थाको उद्देश्य रहेको बताइएको छ ।

संस्थाले विद्यालय तहबाटै बालबालिका तथा युवालाई वातावरण संरक्षण र विपद् व्यवस्थापनसम्बन्धी चेतना दिने काम गर्दै आएको छ । विद्यालयमा वातावरणीय क्लबमार्फत वृक्षारोपण, सरसफाइ, वातावरण संरक्षण तथा विपद्का समयमा अपनाउनुपर्ने सावधानीबारे तालिम र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको संस्थाले जनाएको छ ।

हालै बाढी प्रभावित क्षेत्रमा पनि ‘ग्रीन आर्मी’ का स्वयंसेवकहरू सुरक्षाकर्मी र अन्य उद्धारकर्मीसँगै सरसफाइ, भग्नावशेष हटाउने तथा प्रभावित नागरिकलाई सहयोग गर्ने काममा खटिरहेको देखिएको छ । प्रभावित क्षेत्रमा उनीहरूको उपस्थितिले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ ।

संस्थापक अध्यक्ष सविन शर्माको नेतृत्वमा रहेको ‘ग्रीन आर्मी’ वातावरण संरक्षण र विपद् व्यवस्थापनमा केन्द्रित स्वयंसेवी संस्था रहेको पाइएको छ । संस्थाले गोकर्णेश्वर नगरपालिकामा वातावरण संस्था तथा विपद व्यवस्थापन र अन्य सामाजिक कार्य गर्ने गरि दर्ता भएको छ भने जिल्ला प्रशासन कार्यलय काठमाडौँले २०७८ सालमै पोशाक लगाउन अनुमति दिएको पाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयको २०७८ साउन १२ गतेको सचिवस्तरीय निर्णय अनुसार ग्रीन आर्मी नेपाललाई सेनाको पोशाकसँग मेल नखाने र वातावरणसँग सम्बन्धित संस्था भएकाले पोशाक प्रयोगको अनुमति दिएको थियो । यसका लागि जिल्ला प्रशासनले जिल्ला सुरक्षा समिति र जङ्गी अड्डाको राय मागिएको अनुमति पत्रमा उल्लेख छ ।

त्यस्तै ‘ग्रीन आर्मी’ को प्रमुख सल्लाहकारमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रूपमा जोडिएको पाइएको छ । विपद्का समयमा स्वयंसेवक परिचालन तथा सामाजिक सेवाका गतिविधिमा उनीसहितको टोलीसमेत सहभागी हुँदै आएको संस्थाले जनाएको छ ।

यद्यपि, सुरक्षा निकायसँग मिल्दोजुल्दो पोसाक र ‘आर्मी’ शब्द प्रयोग गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने विषयलाई भने संस्थाले गम्भीर रूपमा लिनुपर्ने देखिएको छ । संस्था गैरसैनिक प्रकृतिको भए पनि बाहिरी स्वरुपका कारण सुरक्षा निकायसँग सम्बन्धित रहेको गलत बुझाइ उत्पन्न हुन सक्ने भएकाले यसको परिचय र भूमिकाबारे स्पष्ट जानकारी दिन आवश्यक रहेको आवाज समेत उठिरहेका छन् ।‘ग्रीन आर्मी नेपाल’ ले भने आफूहरूको मुख्य उद्देश्य सैन्य गतिविधि नभई वातावरण संरक्षण, सामाजिक सेवा र विपद्का समयमा स्वयंसेवी सहयोग रहेको स्पष्ट पार्दै आएको छ । पूरानै संस्था भएपनि अहिले भोटेकोशीको महाविपदमा पोशाकसहितको उपस्थितिले सबैको ध्यान खिचेको छ ।