काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै भोटेकोशी बाढीपछि सरकार जनताको जीवनरक्षामा लडिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको घडीमा दृढ संकल्पका साथ सरकार जनताको जीवन रक्षमा लडिरहेको बताएका हुन् ।
प्रधानमन्त्री शाहले भदौ १० गते भोटेकोशीमा आएको भिषण बाढीपछि सरकारले गरेका कामको विवरण संसदमा जानकारी दिएका थिए । उनले खोज उद्धार र राहतलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको बताउँदै बाढीको दोस्रो दिन आफै नुवाकोट पुगेर स्थलगत अनुगमन समेत गरेको जानकारी दिए ।
उनले प्रधानमन्त्री राहत कोषमा सहयोग आउने क्रम जारि रहेको बताउदै अहिलेसम्म ७ अर्ब ८८ करोड ५७ लाख जम्मा भएको जानकारी दिए ।
प्रधानमन्त्री शाहले बाढी प्रभावितका लागि सहयोगमा अन्तर्राष्ट्रिय सहयोग पनि उल्लेख्य प्राप्त भइरहेको भन्दै अन्तर्राष्ट्रिय विकास साझेदारहरुले पनि सहयोग गरिरहेको संसदमा जानकारी दिएका छन् । उनले बाढी प्रभावित क्षेत्रमा ९६ प्रतिशत संचार सेवा पुनर्स्थापित भएको बताए ।
अहिले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक प्रसारण मार्फत विद्युत आपूर्ति गरिएको र क्रमश सबै स्थानमा विद्युत पुन: आपूर्ति गरिने उनले संसदमा जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले बाढीले बगाएका पुललाई पुन: निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको बताउदै बेलिब्रिज पुल छिटै निर्माण गर्ने बताएका छन् । प्रधानमन्त्री शाहले हामीले जलवायु परिवर्तनका कारण भोगेको असर बारे सचेत हुनैपर्ने बताउँदै यस बारेमा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउने बताए ।
प्रधानमन्त्री शाहले यो विपद पूर्वानुमान भन्दा बाहिरको कुरा भएको बताउदै मानव सभ्यताकै ठुलो विपद भएको बताए ।