• २०८३ भदौ २५
  • 2026 September 10, Thursday

कागजात गुमाएका विपद् प्रभावितलाई बैंकिङ सेवाबाट बञ्चित नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं। रसुवालगायत जिल्लामा प्राकृतिक विपद्का कारण चेक, कार्ड, मोबाइल तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै विपद् प्रभावित ग्राहकको बैंकिङ सेवा नरोक्न निर्देशन दिएको हो।

ग्राहकले आवश्यक कागजात गुमाएको अवस्थामा सम्बन्धित संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहक पहिचान गरी सेवा उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ।

परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो अभिलेखमा रहेको ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) सँग भिडाएर ग्राहकको पहिचान पुष्टि भएपछि तत्काल वित्तीय सेवा उपलब्ध गराउनुपर्नेछ।

बाढी तथा अन्य प्राकृतिक विपद्का कारण बैंकिङ कारोबारका लागि आवश्यक कागजात तथा विद्युतीय माध्यम गुमाएका ग्राहकलाई दैनिक वित्तीय कारोबारमा समस्या नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।