• २०८३ भदौ १८
  • 2026 September 03, Thursday

बाढी पीडितको राहतका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा साढे ३ करोड रुपैयाँ सहयोग

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि ३ करोड ४७ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।

उक्त सहयोग रकम संकलनमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीहरूको सहभागिता रहेको छ।

यसका साथै, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा संकलन गरेको २६ लाख २३ हजार १८ रुपैयाँ पनि सोही अवसरमा हस्तान्तरण गरिएको छ। एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै आफ्नो सहयोग राशि बुझाइसकेका छन् भने अन्य कम्पनीहरू पनि सहयोग गर्ने क्रममा रहेको संघले जनाएको छ।

विपद्का कारण क्षतिग्रस्त भएका आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त हुनासाथ त्यसको बीमा दाबी भुक्तानी प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर फर्स्यौट गर्ने प्रतिबद्धता समेत संघले व्यक्त गरेको छ। यसबाट बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र आर्थिक पुनरुत्थानमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।

चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको बेला बीमा कम्पनीहरूले देखाएको यो सामाजिक उत्तरदायित्व र सहयोगको सराहना गर्दै धन्यवाद ज्ञापन गरे।
संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। साथै, उद्धार कार्यमा अहोरात्र खटिने नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज र मित्रराष्ट्रका उद्धारकर्मीहरूप्रति संघले आभार प्रकट गरेको छ।