• २०८३ भदौ १८
  • 2026 September 03, Thursday

ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का सार्वजनिक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित एक डलरको विशेष सिक्का सार्वजनिक गरिएको छ । जीवित राष्ट्रपतिको तस्बिर अमेरिकी मुद्रामा राखिएको यो एक शताब्दीपछि पहिलो घटना भएको बताइएको छ ।

बुधबार अमेरिकाको २५०औँ वार्षिकोत्सवको अवसरमा ट्रम्पको तस्बिरसहितको एक डलरको विशेष सिक्का सार्वजनिक गरेको हो। सिक्कामा ट्रम्पको तस्बिरसँगै ‘स्वतन्त्रता’ र ‘हामी ईश्वरमा विश्वास गर्छौँ’ भन्ने शब्द राखिएका छन् ।

अमेरिकी टकसालका अनुसार यो सिक्का अमेरिकाको ऐतिहासिक वार्षिकोत्सवको भावना, गौरव र विरासतलाई झल्काउने उद्देश्यले तयार पारिएको हो ।

२५ वटा सिक्काको एक समूह ६१ डलर तथा १०० वटा सिक्काको एक थैलो १५४ डलर ५० सेन्टमा बिक्रीका लागि राखिएको थियो । बिक्री सुरु भएको केही घण्टामै अमेरिकी टकसालको वेबसाइटमा यी सिक्का मौज्दातमा नरहेको देखिएको थियो ।

यी सिक्का वासिङ्टन डिसीस्थित अमेरिकी टकसालको पसलमा राखिएका स्वचालित बिक्री मेसिनमार्फत समेत बिक्री गरिएको थियो ।

सुनौलो रङको देखिए पनि सिक्कामा वास्तविक सुन प्रयोग गरिएको छैन । अनुसार सिक्का ८८.५ प्रतिशत तामाबाट बनेको छ भने बाँकी भागमा जस्ता, म्याङ्गानिज र निकेल प्रयोग गरिएको छ । यसअघि गत मेमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने तयारी भइरहेको बताएका थिए । तर अमेरिकी कानुनले जीवित व्यक्तिको तस्बिर अमेरिकी नोटमा राख्न प्रतिबन्ध लगाएको छ । ट्रम्पका समर्थक सांसदहरूले त्यसमा अपवाद बनाउन कानुन ल्याउने प्रयास गरे पनि प्रस्ताव हाल अघि बढ्न सकेको छैन ।

अमेरिकी मुद्रामा जीवित राष्ट्रपतिको तस्बिर राखिएको यो पहिलो घटना भने होइन । सन् १९२६ मा अमेरिकाको १५०औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको आधा डलरको सिक्कामा तत्कालीन राष्ट्रपति क्याल्भिन कुलिजको तस्बिर राखिएको थियो ।

ट्रम्प प्रशासनले ट्रम्पको तस्बिर अंकित नयाँ सिक्काका लागि सन् २०२० मा पारित सिक्का पुनःडिजाइनसम्बन्धी कानुनलाई समेत आधार बनाएको छ । उक्त कानुनले सिक्काको पछाडिको भागमा जीवित व्यक्तिको तस्बिर राख्न रोक लगाए पनि अगाडिको भागमा त्यस्तो स्पष्ट प्रतिबन्ध नरहेको प्रशासनको तर्क छ ।

सन् १८६६ को थायर संशोधनले अमेरिकी नोटमा जीवित व्यक्तिको तस्बिर राख्न प्रतिबन्ध लगाएको छ। तर उक्त व्यवस्था परम्परागत रूपमा सिक्कामा लागू नहुने मानिँदै आएको छ ।