काठमाडौं। त्रिशूली नदीमा आएको बाढीले गल्छी-त्रिशूली सडकखण्ड र विभिन्न पुलमा क्षति पुर्याएपछि सडक सम्पर्क प्रभावित भएका धादिङ, नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार तत्काल यातायात सहज बनाउन विभिन्न सडक मर्मत, स्तरोन्नति र आवश्यक संरचना निर्माण गरी चारवटा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो।
मन्त्रालयका अनुसार पृथ्वी राजमार्गबाट धादिङबेसी पुग्न १५ किलोमिटरको वैकल्पिक मार्ग सञ्चालनमा छ। मासटारबाट त्रिशूली पुल पार गरी केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसी पुग्ने यो सडकले गल्छी र सिद्धलेक क्षेत्रलाई जोडेको छ।
त्यस्तै, त्रिशूली नदीको पारिपट्टिका बस्तीलाई जोड्न करिब ४० किलोमिटरको सडक सञ्चालन गरिएको छ। त्रिशूली पुल पारिबाट नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म यातायात सञ्चालन गरिएको हो। यसबाट धादिङको सिद्धलेक तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्र जोडिएका छन्।
देवीघाटस्थित तादी खोला पुल क्षतिग्रस्त भएपछि ३५ किलोमिटरको वैकल्पिक मार्ग पनि सञ्चालनमा ल्याइएको छ। पिपलटार-धमले-निरञ्जना-बाघखोर-हर्रे-देउराली-कोल्पुटार सडकबाट चारपाङ्ग्रे सवारी चल्न थालेका छन्। यसले विदुर र बेलकोटगढी क्षेत्रलाई जोडेको छ।
रसुवा जाने मुख्य सडकमा क्षति पुगेपछि ढिकुरे हुँदै बोगटीटारसम्मको करिब १२ किलोमिटर नुवाकोट खण्ड पनि सञ्चालनयोग्य बनाइएको छ। फेदीबेँसी, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानोखोला, धनस्वारा, भोर्ले र जिबजिबे हुँदै बोगटीटार पुग्ने यो मार्गबाट रसुवा आवतजावतको विकल्प तयार भएको छ। रसुवा खण्डमा भने मर्मतको काम जारी छ।
सडक डिभिजनले वैकल्पिक मार्गमा पहिरो हटाउने, कल्भर्ट बनाउने, सडक सतह सुधार गर्ने र ग्राभेल राख्ने काम गरिरहेको छ। कतिपय मार्गमा ठूला सवारी सञ्चालनका लागि थप सुधार आवश्यक रहेको सडक डिभिजनले जनाएको छ।
बाढीले त्रिशूली करिडोरका सडक र पुलमा ठूलो क्षति पुर्याएकाले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको हो। क्षतिग्रस्त पुलको दीर्घकालीन विकल्पका रूपमा बेलीब्रिज निर्माणको तयारीसमेत भइरहेको छ।
यसअघि बाढीबाट धादिङ, नुवाकोट र रसुवाका सडक तथा पुलमा ठूलो क्षति पुगेपछि कतिपय बस्तीको नियमित सडक सम्पर्क टुटेको थियो। वैकल्पिक मार्ग सञ्चालनसँगै ती क्षेत्रमा अत्यावश्यक वस्तु तथा सेवा ओसारपसार र यात्रु आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ।