रसुवा । चिलिमे जलविद्युत् आयोजनामा फसेकाको उद्धारका लागि प्रयास निरन्तर जारी रहेको छ । भौगोलिक विकटता, प्रतिकूल मौसम तथा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन कठिनाइ भइरहेको छ ।
हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै खटिएर माटो तथा भारी भग्नावशेष हटाउने काम गरिरहेका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ ।
म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलमा पुर्याउनुपर्ने भएको छ । त्यसका लागि स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माणको काम आजदेखि अघि बढाइएको छ । सुरुङमार्फत एक्स्काभेटर लैजाने विकल्पका लागि पनि करिब १०० मिटर क्षेत्रमा रहेको माटो हटाउने काम भइरहेको छ ।
ठूला हेलिकोप्टर अवतरण गर्न नसक्ने भएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्याउने प्रयाससमेत जारी रहेको छ ।
उद्धार कार्य चुनौतीपूर्ण भए पनि रोकिएको नरोकिएको र पहुँच सडक विस्तार, आवश्यक उपकरण परिचालन र सुरुङभित्रको उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइएको उर्जा मन्त्रालयले जनाएको छ ।