• २०८३ भदौ २१
  • 2026 September 06, Sunday

रुस समर्थक टेलिग्राम च्यानलहरूको झूटो दाबी : युक्रेनी महिला सैनिकहरूलाई पक्राउ गरी बलात्कार गरियो

जब युक्रेनी सशस्त्र सेनामा सेवा गरिसकेकी जर्जियाली चिकित्सक केती लेश्काशेली करिब तीन वर्षअघि मोर्चाबाट फर्किइन्, उनको फोन निरन्तर बजिरह्यो। साथीभाइ र आफन्तहरू उनी ठीक छिन् कि छैनन् भनेर जान्न चाहन्थे। उनीहरूले टेलिग्राममा यस्ता पोस्टहरू देखेका थिए जसमा दाबी गरिएको थियो उनलाई अपहरण गरी बलात्कार गरिएको छ।

“मलाई थाहा भयो, एउटा भिडियो सार्वजनिक भएको छ जसमा म र अन्य केही केटीहरूलाई पक्राउ गरिएको दाबी गरिएको छ। त्यहाँ एउटा टेलिग्राम च्यानलको लिङ्क थियो जसमा हामीलाई ‘सजाय’ दिइँदै गरेको देखाइएको भनिएको थियो,” उनले बीबीसीलाई भनिन्।

उनले तस्बिरमा आफैँलाई चिनिन्। त्यो उनको आफ्नै तस्बिर थियो, जुन केही वर्ष पहिले पूर्वी युक्रेनको सहर अवदीभकामा सैनिक पोसाकमा खिचिएको थियो। यो सहर अहिले रुसी कब्जामा छ। उनले भनिन्, “उनीहरूले मेरो बारेमा विभिन्न किसिमका भयानक कुराहरू लेखे। यसले मलाई रिस उठाउँछ। म यसको बारेमा केही गर्न सक्दिनँ।”

यो पोस्ट भ्रामक टेलिग्राम विज्ञापनहरूको एउटा व्यापक सञ्जालको हिस्सा थियो। यसमा युक्रेनी महिलाहरूसँग बलात्कारको मनगढन्ते दाबी र भिडियो प्रमाणको वाचा गरेर प्रयोगकर्ताहरूलाई रुस समर्थक च्यानलहरूतर्फ आकर्षित गरिएको थियो।

बीबीसी वर्ल्ड सर्भिसले यस अभियानमा ‘क्लिकबेट’ (लोभ्याउने सामग्री) का रूपमा प्रयोग गरिएका २० भन्दा बढी महिलाका तस्बिरहरू फेला पारेको छ, जसमध्ये धेरै युक्रेनी सेनामा कार्यरत छन् वा रहेका थिए। बीबीसीले यीमध्ये सात महिलासँग कुरा गरेका छ ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेदेखि, टेलिग्राम समूह वा च्यानलहरूमा हजारौँ पोस्टहरूमा युक्रेनी महिला युद्धबन्दीहरूसँग बलात्कार र उनीहरूको हत्याको फुटेज देखाउने दाबी गरिएको छ। टेलिग्राम एउटा मेसेजिङ एप हो जहाँ प्रयोगकर्ताहरू ठूला च्यानल वा समूहहरूमा सामेल भएर सामग्री साझा गर्छन्।

एउटा राष्ट्रव्यापी सर्वेक्षण अनुसार, २०२५ मा युक्रेनीहरूका लागि यो समाचारको मुख्य स्रोत थियो। त्यसै गरी यो रुसमा पनि सबैभन्दा लोकप्रिय मेसेजिङ प्लेटफर्म हो।

एनालिटिक्स टूलको प्रयोग गर्दै बीबीसी वर्ल्ड सर्भिसले यौन उत्पीडनसँग सम्बन्धित ६,५०० भन्दा बढी विज्ञापनहरू फेला पारेको छ। यी विज्ञापनहरू करिब १,७०० साना च्यानलहरूले पोस्ट गरेका थिए। कुल मिलाएर, यी पोस्टहरू ६.५ करोड भन्दा बढी पटक हेरिएका थिए।

यिनीहरूले एउटै प्याटर्न अपनाएका थिए, वास्तविक महिलाहरूको वास्तविक तस्बिर प्रयोग गर्ने, उनीहरूलाई अपहरण गरी बलात्कार गरिएको झूटो दाबी गर्ने र भिडियो प्रमाण दिने वाचा गर्दै एउटा लिङ्क जोड्ने। यो जानाजानी अपनाइएको एउटा स्तब्ध पार्ने रणनीति थियो।

जब प्रयोगकर्ताले पोस्टमा क्लिक गर्थे, उनीहरूले अपेक्षा गरेको सामग्री पाउँदैनथे। बरु, लिङ्कले उनीहरूलाई युद्ध समर्थक सामग्रीले भरिएका निजी टेलिग्राम च्यानलहरूमा लैजान्थ्यो।

लिङ्ग आधारित दुष्प्रचारमा अनुसन्धान गरिरहेकी वैलेन्टिना शापोवालोवा भन्छिन्– यो अभियानले मानिसको ध्यान खिचेर पैसा कमाउन “यौन हिंसालाई मनोरञ्जनको रूपमा प्रस्तुत गर्दछ”। उनका अनुसार यी पोस्टहरू सिधै सरकारले नबनाएको भए पनि यसले क्रेमलिनको युद्धको उद्देश्य पूरा गर्छ, किनभने यसले युक्रेनीहरूलाई अपमानित गर्छ र यौन हिंसालाई सामान्य बनाउँछ।

बीबीसीले ती टेलिग्राम च्यानलहरूको सञ्जाल पत्ता लगाएको छ जसलाई यस अभियानबाट फाइदा भइरहेको छ। छ वटा च्यानलका १० लाखभन्दा बढी सब्सक्राइबर छन्।

सबैभन्दा बढी लिङ्क गरिएको च्यानल ‘प्रियमोय एफिर नोवोस्ती’ (Priyomoy Efir Novosti) का अहिले करिब ४० लाख सब्सक्राइबर छन्। यो संख्या रुसका धेरै सरकारी मिडिया संस्थानहरू भन्दा पनि बढी हो। यो च्यानलले आफूलाई न्युज च्यानल भन्छ, तर यसको पुरानो नाम “MVD 18+” थियो, जसले वयस्क सामग्रीको संकेत दिन्थ्यो।

अहिले यो च्यानल क्रेमलिन समर्थक कुनै पनि समाचार समूह जस्तो देखिन्छ। यसले रुसको सबैभन्दा ठूलो निजी बैंक ‘अल्फा बैंक’ को विज्ञापन पनि लिन्छ, जसमाथि बेलायत र अमेरिकाले प्रतिबन्ध लगाएका छन्।

यी च्यानलहरू कति कमाउँछन् भनेर जान्न बीबीसीले विज्ञापनदाता बनेर सम्पर्क गर्दा ‘प्रियमोय एफिर नोवोस्ती’ ले एउटा विज्ञापनको लागि कम्तीमा ५ लाख रूबल (करिब ५,००० पाउण्ड) लिने गरेको बतायो।

पश्चिमी युक्रेनी सहर चेर्नित्सीकी क्षेत्रीय पार्षद लेसिया पलाहनियुक, जसको तस्बिर दुरुपयोग गरिएको थियो, उनले भनिन् “यस्ता कुराले महिलाहरूलाई शर्मिंदगी उठाउनुपर्ने स्थिति सिर्जना गर्छ। महिलाहरूले यो जान्न आवश्यक छ कि उनीहरू एक्लै छैनन्, उनीहरूलाई समर्थन प्राप्त छ। उनीहरूले केही पनि गलत गरेका छैनन्।”

रुसी नागरिक ओलेक्सांद्रा, जो युक्रेनको पक्षबाट लड्न स्वयंसेवा गर्छिन्, उनले आफ्नो अनुहार नग्न शरीरमा फोटोसप गरिएको सम्म देखिन्।

टेलिग्रामले बीबीसीको टिप्पणीको अनुरोधमा कुनै जवाफ दिएको छैन। केती लेश्काशेली, जसलाई २०२५ मा राष्ट्रपति जेलेन्स्कीले “साहसका लागि” पदकबाट सम्मानित गरेका थिए, उनी भन्छिन्, “केही गर्न लगभग असम्भव छ। म चाहन्छु कि मानिसहरूलाई थाहा होस् कि यस्तो धोकाधडी हुन्छ र उनीहरू यसको प्रलोभनमा नपरुन्।”

–बीबीसी हिन्दीमा प्रकाशित समाचारबाट सम्पादित ।