काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा आज देशले राष्ट्रिय शोक मनाइरहँदा छिमेकी मित्रराष्ट्र भारतले आफ्नो ऐक्यबद्धता जनाएको छ। काठमाडौँस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै भदौ १० गतेको आकस्मिक बाढीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको हो।
राष्ट्रिय शोकको यस घडीमा दूतावासले बाढीमा परी ज्यान गुमाएका नेपाली नागरिकका साथै भारत र अन्य देशका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपालले राष्ट्रिय शोक मनाइरहेको यस कठिन समयमा भारत नेपालको साथमा छ। हाम्रा विचार र सहानुभूति प्रभावित सबै परिवारका साथमा छन्।”
दूतावासले नेपालमा जारी खोजी, उद्धार र राहतका कार्यहरूमा भारतले निरन्तर सहयोग र साथ दिने प्रतिबद्धता समेत दोहोर्याएको छ। बाढी र प्राकृतिक विपत्तिका कारण नेपालका विभिन्न क्षेत्रमा भएको अपूरणीय क्षतिप्रति भारतले छिमेकीका नाताले पूर्ण सहयोग गर्ने जनाएको हो।