• २०८३ भदौ २२
  • 2026 September 07, Monday

७२ वर्षीया हजुरआमाको हत्या आरोपमा नाती पक्राउ

म्याग्दी । बेनी नगरपालिका–२, खबराकी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मनकुमारीलाई उनकी छोरीका छोरा २६ वर्षीय आशिष बरुवालले सोमबार बिहान करिब ११: ३० बजे धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। घटनापछि बरुवाल फरार भएका थिए ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बेनी नगरपालिका–२ हाडेभिरमा भाग्दै गरेको अवस्थामा बरुवाललाई फेला पारेर नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान तथा प्रमाण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।