• २०८३ भदौ २२
  • 2026 September 07, Monday

चिलिमे सुरुङ उद्धार अपडेट : नेपाल र भारतको संयुक्त टोलीद्वारा ‘सेफ्टी रोप’ कायम, उद्धार कार्य तीव्र

काठमाडौँ । रसुवाको चिलिमेमा सुरुङभित्र जारी उद्धार कार्यमा भारत र नेपालको संयुक्त प्राविधिक टोलीले महत्त्वपूर्ण प्रगति गरिरहेको छ। भौगोलिक र प्राविधिक चुनौतीहरूका बाबजुद दुवै देशका विज्ञहरू सम्मिलित टोलीले उद्धार कार्यलाई निरन्तर अगाडि बढाइरहेका छन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिँदै टोलीले सुरुङभित्र सम्पर्क स्थापित गर्न सफलता पाएको बताएका छन्। उनका अनुसार, उद्धार टोलीलाई सुरुङभित्र सुरक्षित रूपमा पठाउनका लागि सुरक्षा डोरीको सम्पर्क सफलतापूर्वक कायम गरिएको छ। यसले उद्धारकर्मीहरूलाई सुरुङको भित्री भागसम्म पुग्न सहज बनाउनेछ।

सुरुङभित्र थुप्रिएको लेदो र हिलो पन्छाउनका लागि ठूलो क्षमताको ‘मड पम्प’ र जेनेरेटर पनि घटनास्थलमा ल्याइएको छ। सुरुङभित्रको अवरोध हटाउन यो उपकरणले मद्दत पुर्‍याउने प्राविधिकहरूको विश्वास छ।

यसैबिच, उद्धार स्थलसम्मको पहुँच सहज बनाउनका लागि सडक निर्माण कार्यलाई पनि तीव्रता दिइएको छ। कडा चट्टानहरूका कारण अवरुद्ध सडक खुलाउन नियन्त्रित चट्टान विष्फोटको सहारा लिइएको राजदूत श्रीवास्तवले जानकारी दिएका छन्।

विगत केही दिनदेखि जारी यस उद्धार कार्यमा भारत र नेपालका प्राविधिकहरूले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन्। कठीन परिस्थितिका बाबजुद उद्धार कार्यमा भइरहेको यो प्रगतिले सुरुङभित्र फसेकाहरूको सुरक्षित उद्धार हुने आशा जगाएको छ।