काठमाडाैं । यही भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःसञ्चालन कार्य सम्पन्न भएको छ ।
बाढीले रसुवागढी र बेत्रावतीमा एक–एक गरी दुई वटा ओएलटी, रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीनवटा गरी पाँचवटा एफडीसी तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो । त्यसबाट उक्त क्षेत्रमा सञ्चालित कूल १ हजार ५४४ एफटीटीएच लाइन पूर्ण रूपमा प्रभावित भएका थिए ।
विपद्पछि नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गरी मर्मत तथा पुनःसञ्चालनको कामलाई तीव्रता दिएको थियो ।
हालसम्म प्रभावितमध्ये १ हजार ९३ वटा एफटीटीएच लाइन पुनःसञ्चालनमा आएसँगै पहिलो चरणको सेवा पुनःसञ्चालन कार्य सम्पन्न भएको टेलिकमले जनाएको छ ।
बाँकी रहेका लाइन सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ ।
प्राकृतिक विपद्को विषम परिस्थितिमा सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जनाउँदै टेलिकमले सेवा अवरुद्ध भएको अवधिमा सेवाग्राहीले देखाएको धैर्यता र विश्वासप्रति आभार व्यक्त गरेको छ ।