काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने र सहभागी हुने कार्यक्रम बारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
महासभाको उच्चस्तरीय छलफल आगामी सेप्टेम्बर २२ देखि २८ सम्म अमेरिकाको न्युयोर्कमा आयोजना हुँदैछ । प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाना सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले महासभामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, निर्वाचनपछि गठन भएको वर्तमान सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषय उठाउनेछन् । नेपाललाई आवश्यक अन्तर्राष्ट्रिय सहयोग र सद्भावलाई निरन्तरता दिनसमेत उनले आग्रह गर्नेछन् ।
यसैगरी, रसुवाको भोटेकोसी नदीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढी तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिका विषयमा पनि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछन् । नेपालले जलवायु परिवर्तनमा नगन्य योगदान गरे पनि यसको असरबाट ठूलो क्षति व्यहोर्नुपरेको भन्दै जलवायु न्याय तथा क्षति र नोक्सानीबापत सहयोगका लागि आग्रह गरिने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले जलवायु उत्थानशील पूर्वाधार निर्माण, जलवायुमैत्री कृषि तथा क्षमता विकासका लागि विकसित मुलुकबाट आवश्यक प्रविधि र सहुलियतपूर्ण जलवायु वित्त उपलब्ध गराउनसमेत अपिल गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
महासभाका क्रममा नेपालले ‘हिमालदेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि कार्य आह्वान’ विषयमा विशेष कार्यक्रम आयोजना गर्नेछ । कार्यक्रममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसबाट सिर्जित जोखिमबारे छलफल गरिनेछ ।
परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मन्त्रीस्तरीय बैठक तथा उच्चस्तरीय छलफलमा सहभागिता जनाउनेछन् । उनले विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च पदस्थ अधिकारी सहभागी हुनेछन् ।