• २०८३ भदौ २८
  • 2026 September 13, Sunday

रसुवा बाढीको अध्ययनका लागि उच्चस्तरीय वैज्ञानिक समिति गठन गर्दै सरकार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ । विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू-जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता मोहन कुमार शाक्यका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरुसहितको समिति गठन गर्ने तयारी छ । रसुवा विनाशकारी बाढीलाई केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता शाक्यले बताए ।

जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी-ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन । त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुनर्निर्माण आवश्यक रहेको निष्कर्ष जल तथा ऊर्जा आयोगको छ ।

मन्त्रालयका अनुसार अध्ययन तीन चरणमा हुनेछ । पहिलो चरणमा, उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी-ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ । यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्ध अध्ययन गरिनेछ ।

दोस्रो चरणमा, घटनाका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ ।

तेस्रो तथा महत्वपूर्ण चरणमा मानवजनित जलवायु परिवर्तनले यी जोखिमहरूको सम्भावना, तीव्रता वा पूर्वतयारी अवस्थामा कति प्रभाव पारेको थियो भन्ने वैज्ञानिक रूपमा मूल्याङ्कन गरिनेछ ।

यसअघि सन् २०२४ सेप्टेम्बर २६-२८ मा नेपालमा भएको अत्यधिक वर्षा, बाढी तथा पहिरोको घटनालाई अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययन समूह- वर्ल्ड वेदर एट्रिब्युसनुको अध्ययनले मानवजनित जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावका रूपमा मूल्याङ्कन गरेको थियो । रसुवा-भोटेकोशीको घटना भने त्योभन्दा फरक प्रकृतिको हुन सक्ने भएकाले प्रत्यक्ष तुलना वा पूर्वनिर्धारित निष्कर्षभन्दा वैज्ञानिक प्रमाणका आधारमा अध्ययन गर्नुपर्ने निष्कर्षमा ऊर्जा मन्त्रालय पुगेको हो ।

प्रस्तावित अध्ययनमा हिमनदी तथा हिममण्डल विज्ञान, भूगर्भशास्त्र, भूरूपविज्ञान तथा पहिरो विज्ञान, जलविज्ञान तथा नदी जलयान्त्रिकी, मौसम विज्ञान तथा जलवायु विज्ञान, रिमोट सेन्सिन, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन कारक विश्लेषणलगायतका विषयका विशेषज्ञहरूलाई सहभागी गराउने तयारी छ ।

भोटेकोशीरल्हेन्दे नदी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनासमेत अध्ययनमा समेट्ने र आवश्यक वैज्ञानिक सहकार्य तथा तथ्यांक आदानप्रदान संयन्त्र विकास गर्ने प्रस्ताव गरिएको छ ।

मन्त्रालयकाअनुसार प्रस्तावित उच्चस्तरीय वैज्ञानिक समितिले विपद्को सम्भावित उद्गमस्थलको स्थलगत भ्रमण गर्नेछ । स्थल निरीक्षणका क्रममा विस्तृत तस्वीर तथा भिडियो अभिलेख तयार गर्नुका साथै आवश्यकताअनुसार ड्रोन तथा सेटलाइट अवलोकन समेत प्रयोग गरिनेछ ।

मन्त्रालयले विज्ञ समितिलाई अध्ययनका लागि दुई महिनाको समय दिने कार्यादेश बनाएको छ ।