• २०८३ भदौ २९
  • 2026 September 14, Monday

संस्थापन पक्षको आव्हान देउवा समूहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने

काठमाडौं । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षको आव्हानलाई अस्वीकार गरेको छ ।

देउवा समूहका नेता शशांक कोइरालाले संस्थापन पक्षले सहमतिको प्रयास नगरेको बताए । त्यस्तै, नेता डा. प्रकाशशरण महतले सभापति गगन थापासहितको नेतृत्वले सहमतिको लागि ठोस पहल नगरेको आरोप लगाउँदै मिडियामा प्रचारबाजी मात्र गरेको बताए । उनले संस्थापन पक्षले आफूहरुलाई अपमानित ढंगले केन्द्रीय सदस्य बनाउन खोजेको आरोप लगाए ।

उनले महाधिवेशन स्थगित गरेर सहमतिमा जान सकिने बताउँदै संस्थापन पक्षले सबै बाटो बन्द गरेको बताए । आफूहरुले असोज १५ गतेदेखि महाधिवेशन गर्ने र पार्टीका सबै कार्यकर्तालाई आव्हान गरेको पनि उनले बताए। नेता महतले आफूहरुले अर्को पार्टी बनाउन नलागेको र काँग्रेसकै महाधिवेशन गर्न लागेको बताए ।

यता संस्थापन पक्षले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४‍औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो ।

यसअघि पूर्वसभापति देउवा समूहले छुट्टै १५औँ महाधिवेशन आगामी २१ देखि २३ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यस्तै, संस्थापन पक्षले यसअघि नै पार्टीको १५औं महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ ।