काठमाडौं। सरकारले पूँजी बजार सुधार तथा पुनरुत्थानलाई लक्षित विभिन्न नीतिगत कार्यक्रम अघि सारेपछि सेयर बजारमा लगानीकर्ताको मनोबल बढेको देखिएको छ। सुधारका कार्यक्रम सार्वजनिक भएको अर्को कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.५७ अंक अर्थात् १.८७ प्रतिशतले बढेर २६३३.६२ विन्दुमा पुगेको छ।
लामो समयदेखि उतारचढाव र दबाबमा रहेको बजारमा सरकारको सुधार योजनाले सकारात्मक संकेत दिएको देखिन्छ। सरकारले व्यक्तिगत लगानीकर्तालाई लाग्ने पुँजीगत लाभकरमा सहुलियत, बजारको दायरा विस्तार, नयाँ आधारभूत सूचक निर्माण, उच्च मूल्य भएका सेयरको विभाजन तथा कम्पनीलाई आफ्नै सेयर फिर्ता किन्न सक्ने व्यवस्था लगायतका सुधार अघि सारेको छ।
सरकारको योजनामा लगानीकर्ताले गरेको वार्षिक नाफा-घाटा समायोजन गरेर कर निर्धारण गर्ने व्यवस्था ल्याउने तयारीसमेत गरिएको छ। प्रस्तावित व्यवस्थाअनुसार एक वर्षभन्दा बढी समय सेयर राखेर बिक्री गर्ने लगानीकर्ताका लागि ३.५ प्रतिशत र एक वर्षभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था अघि सारिएको छ।
यी नीतिगत घोषणाले बजारमा लगानीकर्ताको विश्वास बढाउन भूमिका खेलेको देखिएको छ।
नेप्से बढेसँगै मंगलबार बजारमा कारोबार गतिविधि पनि उल्लेख्य रूपमा विस्तार भएको छ। यस दिन ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
अघिल्लो कारोबार दिन करिब ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यसरी हेर्दा एकै दिन कारोबार रकम करिब ३ अर्ब ६१ करोड रुपैयाँले बढेको छ।
मंगलबार ३४७ वटा धितोपत्रका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर तथा धितोपत्र किनबेच भएका छन्। बजारमा खरिदकर्ता हाबी हुँदा कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य उकालो लागेको छ।
यस दिन कारोबार भएका कम्पनीमध्ये २६५ कम्पनीको सेयर मूल्य बढेको छ। १२ कम्पनीको मूल्य घट्दा एक कम्पनीको मूल्य भने स्थिर रह्यो।
मूल्य वृद्धिको शीर्ष स्थानमा धौलागिरि लघुवित्त वित्तीय संस्था रहेको छ। यसको सेयर मूल्य १४.९६ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ११९ रुपैयाँ पुगेको छ।
त्यस्तै सिन्धु विकास बैंकको सेयर ११.०३ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ९.७३ प्रतिशत, जानकी फाइनान्सको ८.०६ प्रतिशत र मिडसोलु हाइड्रोपावरको मूल्य ६.६७ प्रतिशतले बढेको छ।
यसको विपरीत एभरेस्ट बैंक डिबेन्चरको मूल्य सबैभन्दा धेरै ५.५५ प्रतिशतले घटेको छ। १० प्रतिशत केबिएल डिबेन्चर २०९० को मूल्य पनि ३ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। कम्पनीको करिब ३२ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसको सेयर मूल्य भने अघिल्लो दिनको तुलनामा १.९४ प्रतिशतले घटेर २ हजार ८७९ रुपैयाँमा कायम भएको छ।
दोस्रो ठूलो कारोबार शिवम् सिमेन्टको भएको छ। कम्पनीको ३१ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
त्यसपछि अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी, लक्ष्मी सनराइज बैंक, सानिमा मिडल तमोर हाइड्रोपावर, सोलु हाइड्रोपावर, ङादी ग्रुप पावर र गरिमा विकास बैंकलगायत कम्पनीमा पनि लगानीकर्ताको उल्लेख्य चासो देखिएको छ।
रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश घोषणा गरेपछि कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको बजार विश्लेषण गरिएको छ।
मंगलबार नेप्सेका सबै १३ वटै समूहगत परिसूचक बढेका छन्। यसमध्ये निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २.८२ प्रतिशतले उक्लिएको छ।
जीवन बीमा समूह २.५९ प्रतिशत, लगानी २.५२ प्रतिशत, फाइनान्स २.२३ प्रतिशत, अन्य समूह २.१२ प्रतिशत, बैंकिङ १.९० प्रतिशत, जलविद्युत् १.८४ प्रतिशत, विकास बैंक १.७६ प्रतिशत र माइक्रोफाइनान्स १.७५ प्रतिशतले बढेका छन्।
होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूहमा पनि सकारात्मक वृद्धि देखिएको छ।