• २०८३ असोज ४
  • 2026 September 20, Sunday

९ स्थानीय तहको सहकार्यमा काठमाडौं उपत्यकामा ६ रुटमा ३० रात्रीकालीन बस सञ्चालन

काठमाडौं । काठमाडौं उपत्यकाका नौ स्थानीय तहले सहकार्य गरेर रात्रीकालीन बस सेवा विस्तार गरेका छन् । काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा संविधान दिवसदेखि ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याइएको हो ।

काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट सुरु परीक्षणका रुपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरु साझा कार्यक्रममा आवद्ध भएका हुन् ।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य सहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरुले साझा यातायातसँग समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने महानगरपालिका र नगरपालिकाहरुमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका छन् । यसमा साझा यातायातका तर्फबाट अध्यक्ष शुशिलराज प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

सेवाअन्तर्गत जगाती–सूर्यविनायक–ठमेल, लगनखेल–गोदावरी–बुढानीलकण्ठ, चक्रपथ, कीर्तिपुर–जमल, टाखेल–ठमेल तथा नागढुंगा–विमानस्थल रुटमा बस सञ्चालन हुनेछन् । यसअघि लगनखेल–बुढानीलकण्ठ र नागढुंगा–विमानस्थल रुटमा सातवटा बसमार्फत राति ८ बजेदेखि ११ बजेसम्म परीक्षण सेवा सञ्चालन गरिएको थियो ।

विस्तारित सेवाअन्तर्गत जगाती-सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, साविक लगनखेल–बुढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६ वटा, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर-जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा साविक नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गरिनेछ । यसअघि लगनखेलदेखि बुढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो । सेवाको प्रभाव तथा मूल्याङ्कन, लाभलागत विश्लेषणका आधारमा नाफाघाटाभन्दा सेवा ठुलो कुरा भएको निष्कर्ष निकालिएको थियो ।

रात्रीकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सातवटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसङ्याका आधारमा काठमाडौँ महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति गरिएको छ । सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ ।

चक्रपथमा बस परिवर्तन गरेर यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्ने जनाइएको छ । सेवाले रातको समयमा अस्पताल, विमानस्थल, बजार तथा अन्य अत्यावश्यक स्थानमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज र सुरक्षित सार्वजनिक यातायात उपलब्ध गराउने अपेक्षा गरिएको छ ।