काठमाडौँ। तुलसीपुर कारागारमा रहेका महिला कैदीबन्दीलाई अध्ययन, ज्ञान र आत्मविकासको अवसर प्रदान गर्ने उद्देश्यले ५९० भन्दा बढी पुस्तकसहित पुस्तकालय स्थापना गरिएको छ।
नेशनल प्रेस क्लब नेपाल तथा नेपाल वान एचडीकी अध्यक्ष मोनिका सिंहको पहलमा जिल्ला प्रशासन कार्यालय दाङ र तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा पुस्तकालय स्थापना गरिएको हो।
‘पर्खालभित्र परिवर्तनको सुरुवात’ अभियानअन्तर्गत स्थापना गरिएको पुस्तकालयमा विभिन्न विधा तथा विषयसँग सम्बन्धित पुस्तकहरू राखिएका छन्। पुस्तक अध्ययनबाट कैदीबन्दीले खाली समयको सदुपयोग गर्नुका साथै नयाँ ज्ञान हासिल गर्ने र आफ्नो जीवन तथा भविष्यप्रति सकारात्मक सोच विकास गर्ने अपेक्षा गरिएको छ।
पुस्तकालय स्थापनाका लागि पहल गरेकी सिंहले आफू दाङकै भएकाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै महिला कैदीबन्दीका लागि पुस्तकालय स्थापना गरिएको बताइन्। कारागारको पर्खालले व्यक्तिको स्वतन्त्रतालाई सीमित गर्न सक्ने भए पनि ज्ञान र सिकाइको यात्रालाई रोक्न नसक्ने उनको भनाइ छ।
अपराधमा संलग्न भएको वा अभियोग लागेर कारागार पुगेका व्यक्तिका लागि पनि जीवनमा सुधार र परिवर्तनको अवसर आवश्यक रहेको सिंहले बताइन्। महिलाको शिक्षा, ज्ञान र आत्मविकासमा सहयोग पुर्याउनु समाजको साझा दायित्व भएको उनले उल्लेख गरिन्।
तुलसीपुर कारागारमा हाल ६४ जना महिला कैदीबन्दी रहेका छन्। उनीहरूसँगै चार जना बालबालिका पनि कारागारमा रहेका छन्।