• २०८३ असोज ५
  • 2026 September 21, Monday

ठमेलमा फेरि भेट्रान फुटबलको रोमाञ्च, दोस्रो पर्यटन कप हुँदै

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा तथा ठमेल XI को कार्यक्रम व्यवस्थापनमा XTreme Energy Drink दोस्रो ठमेल भेट्रान पर्यटन कप २०२६’ आयोजना हुने भएको छ।

यससम्बन्धी औपचारिक कार्यक्रम सोमबार रोयल सुइट्स बुटिक होटलमा सम्पन्न भएको हो। कार्यक्रममा प्रतियोगिताको तयारी, उद्देश्य तथा पुरस्कारलगायतका विषयमा जानकारी दिइएको थियो।

४५ वर्ष वा सोभन्दा माथिका खेलाडीहरू सहभागी हुने फुटबल प्रतियोगिता सेप्टेम्बर २३ देखि २७ सम्म लैनचौर फुटबल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन सेप्टेम्बर २३ मा गरिनेछ।

खेलकुदमार्फत सक्रिय जीवनशैली, आपसी मित्रता र सामुदायिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिताले खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले २ लाख रुपैयाँ र उपविजेता टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष दीपक गुरुङ पर्यटन बोर्डका अध्यक्ष राजु डंगोल अतिथि गीता गुरुङ परिषद्का कोषाध्यक्ष कन्चु भुटिया लैनचौर युवा क्लबका अध्यक्ष रा. रजक तथा छत्रपाटी निःशुल्क चिकित्सालयका डा. मनोजमान श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन ममता खड्काले गरेकी थिइन्।

प्रतियोगिताको प्रायोजक XTreme Energy Drink रहेको छ भने समग्र कार्यक्रम व्यवस्थापन ठमेल XI ले गर्नेछ।

आयोजकले प्रतियोगितामा सहभागी भई खेलाडीहरूको हौसला बढाउन खेलप्रेमी, स्थानीय बासिन्दा, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ ।