• २०८३ असोज ६
  • 2026 September 22, Tuesday

प्रधानमन्त्री शाह र मलेसियाका प्रधानमन्त्रीबिच टेलिफोन, रोजगारीको सिन्डिकेट हटाउन आग्रह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग विशेष छलफल गरेका छन्। प्रधानमन्त्री शाहले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत मंगलबार बिहान छलफल गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका थिए। उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेका थिए।

प्रधानमन्त्री शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिए।

सचिवालयका अनुसार प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको स्पष्ट पारेका थिए।

प्रधानमन्त्री इब्राहिमले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गरेको शाहको सचिवालयले जनाएको छ।