काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई राष्ट्रपतिबाट प्रदान गरिएको कैद माफी सदर गरेको छ। मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कैद माफीविरुद्धमा दायर रिट खारेज गर्ने फैसला गरेको हो।
चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाइएको थियो। सर्वोच्च अदालतले समेत उच्च अदालत दिपायलको फैसला सदर गरेपछि उनी कैद सजाय भोगिरहेका थिए।
तर, तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा चौधरीको बाँकी कैद माफी गरेका थिए। त्यसपछि उनी कारागारबाट रिहा भएका थिए।
राष्ट्रपतिको उक्त निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। उनले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय तथा रेशम चौधरीलाई विपक्षी बनाएर माफी दिने निर्णय कानुनसम्मत नभएको दाबी गरेकी थिइन्।
कडायतले चौधरीविरुद्ध जन्मकैदको फैसला सर्वोच्चबाट समेत कायम भइसकेको अवस्थामा कैद पूरा हुनुअघि माफी दिनु उचित नभएको जिकिर गरेकी थिइन्। यही निर्णयलाई चूनौती दिँदै परेको रिटमा सर्वोच्चले माफीको निर्णय सदर गरेको हो।