काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। भन्सार विभागको साउन र भदौको तथ्यांकअनुसार यस अवधिमा ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। गत आर्थिक वर्षको यही अवधिमा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख रुपैयाँको आयात भएकामा यसपटक आयात रकम ९६ अर्ब ३६ करोड रुपैयाँले बढेको हो।
आयातको वृद्धिदर ३१.५८ प्रतिशत पुगेको छ। साउनमा करिब १ खर्ब ८७ अर्ब रुपैयाँको वस्तु भित्रिएकोमा भदौमा आयात बढेर २ खर्ब १४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
आयात बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा केही वस्तुको मूल्य वृद्धि, चाडपर्व लक्षित उपभोग्य वस्तुको माग, पेट्रोलियम पदार्थको खपत तथा रसुवा बाढीपछि उत्पन्न आपूर्ति समस्याका कारण अत्यावश्यक वस्तुको आयात बढ्नु प्रमुख कारण देखिएको छ। विशेषगरी साउन-भदौमा दसैं, तिहारलगायतका पर्वलाई लक्षित गरी बजारमा माग बढ्दा त्यसअनुसार आयात पनि विस्तार भएको हो। पेट्रोलियम पदार्थमध्ये खाना पकाउने ग्यासको खपतसमेत बढेको तथ्यांकले देखाएको छ।
यता, निर्याततर्फ भने आयातभन्दा तीव्र विस्तार देखिएको छ। पहिलो दुई महिनामा नेपालबाट ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको निर्यात भएकामा यसपटक ६१.८६ प्रतिशतको वृद्धि भएको हो।
निर्यात विस्तारमा सोयाबिन तेलको ठूलो योगदान देखिएको छ। दुई महिनामा करिब ३६ अर्ब रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। यही अवधिमा सोयाबिन तेलको आयात पनि करिब ३८ अर्ब रुपैयाँ बराबर रहेको छ।
आयातभन्दा निर्यातको वृद्धिदर उच्च रहे पनि कुल व्यापारको आकारमा आयातको हिस्सा ठूलो भएकाले व्यापार घाटा भने बढेको छ। साउन र भदौमा व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ रहेकाले यसपटक व्यापार घाटा २६.०२ प्रतिशतले बढेको हो।
पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख रुपैयाँ थियो। यस आधारमा कुल वैदेशिक व्यापार ३५.६४ प्रतिशतले विस्तार भएको छ।
कुल व्यापारमा आयातको हिस्सा ८३.९८ प्रतिशत र निर्यातको हिस्सा १६.०२ प्रतिशत पुगेको छ। गत वर्षको पहिलो दुई महिनामा निर्यातको हिस्सा १३.४२ प्रतिशत रहेकामा यसपटक त्यसमा सुधार देखिएको हो।