काठमाडौँ। अमेरिकी संघीय न्यायाधीश टिमोथी केलीले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन आदेश दिएका छन्।
केलीले पत्रकारको प्रेस पास रद्द गर्दा संविधानले सुनिश्चित गरेको उचित कानुनी प्रक्रिया पालना नगरिएको ठहर गरेका छन्। उनले सरकारबाट संवैधानिक अधिकार खोस्नुअघि सम्बन्धित व्यक्तिलाई सूचना दिनुका साथै आफ्नो भनाइ राख्ने अवसर दिनुपर्ने बताएका छन्।
ट्रम्पले गत शुक्रबार सामाजिक सञ्जालमार्फत यी तीन सञ्चारमाध्यमलाई ‘फेक न्युज’ प्रकाशन गरेको आरोप लगाउँदै ह्वाइट हाउसबाट हटाउने घोषणा गरेका थिए। त्यसपछि ती मिडिया प्रतिबन्धविरुद्ध अदालत पुगेका थिए।
सुनुवाइका क्रममा ट्रम्प प्रशासनका वकिलले ती सञ्चारमाध्यमको रिपोर्टिङले राष्ट्रिय सुरक्षामा असर पारेको दाबी गरेका थिए। तर सञ्चारमाध्यमका वकिलले ‘राष्ट्रिय सुरक्षा’को तर्क प्रतिबन्ध लगाइसकेपछि मात्रै अघि सारिएको बताएका थिए।
केलीले यसअघि सन् २०१८ मा सिएनएनका संवाददाता जिम एकोस्टाको प्रेस पास रद्द गरिएको घटनासँग सम्बन्धित मुद्दामा पनि उचित कानुनी प्रक्रियाको विषय उठेको स्मरण गराएका थिए।