• २०८३ असोज ८
  • 2026 September 24, Thursday

चार महिनामै किन फेरि वाता गर्दै छन् ट्रम्प र सी ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वाशिङ्टनमा महत्त्वपूर्ण भेटवार्ता हुँदैछ। चार महिना नौ दिनपछि हुन लागेको यो भेटमा दुई देशबीचको व्यापारिक तनावसँगै कृत्रिम बुद्धिमत्ता (एआई), ताइवान, इरान र विश्व शान्ति तथा विकासका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सी २३ देखि २५ सेप्टेम्बरसम्मको अमेरिकी राजकीय भ्रमणमा छन्। उनी ट्रम्पको निमन्त्रणामा अमेरिका पुगेका हुन्। बुधबार साँझ जोइन्ट बेस एन्ड्र्युजमा ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले सी र उनकी पत्नी पेङ लियुआनलाई विशेष सम्मानसहित स्वागत गरेका थिए। करिब ५०० अमेरिकी सैनिकको सहभागिता रहने औपचारिक स्वागत समारोहपछि बिहीबार ह्वाइट हाउसमा दुई नेताबीच मुख्य वार्ता हुँदैछ। साँझ ट्रम्पले सीका लागि राजकीय रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ।

यसअघि १४ मे २०२६ मा ट्रम्प चीन भ्रमणमा जाँदा दुवै नेताबीच भेट भएको थियो। यसपटकको वार्ता अमेरिका-चीन सम्बन्धमा पछिल्लो समय देखिएको तनावलाई व्यवस्थापन गर्ने प्रयासका रूपमा हेरिएको छ। चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताले अमेरिका-चीन सम्बन्धका महत्वपूर्ण विषयसँगै विश्वमा शान्ति र विकाससँग सम्बन्धित विषयमा पनि छलफल गर्नेछन्। यद्यपि वार्ताको विस्तृत आधिकारिक एजेन्डा सार्वजनिक गरिएको छैन।

दुवै देशबीचको व्यापार र ट्यारिफ वार्ताको प्रमुख विषय बन्नेछ। ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि अमेरिका र चीनबीच ट्यारिफलाई लिएर तनाव तीव्र बनेको थियो। दुवै पक्षले एकअर्काका सामानमा उच्च शुल्क लगाएपछि दुर्लभ खनिज, ऊर्जा, कृषि उत्पादन र अन्य व्यापारिक विषयसमेत विवादमा परेका थिए। त्यसपछि भएको व्यापारिक समझदारीले तत्काल थप टकराव रोकिए पनि दीर्घकालीन समाधान अझै बाँकी छ। अहिलेको अस्थायी व्यापारविरामलाई थप लम्ब्याउने तथा व्यापक व्यापार सम्झौताको बाटो खोज्ने विषयमा दुवै पक्षले छलफल गर्न सक्छन्।

यससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई पनि वार्ताको नयाँ र महत्वपूर्ण विषय बनेको छ। अमेरिका र चीन एआई प्रविधिमा विश्व नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन्। तर एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमलाई लिएर दुवै देशबीच सहकार्यको सम्भावना पनि खोजिँदैछ। विशेषगरी राष्ट्रिय सुरक्षामा गम्भीर असर पार्न सक्ने एआईसम्बन्धी घटना भए तत्काल एकअर्कालाई जानकारी गराउने ‘इन्सिडेन्ट लाइन’ वा सूचना आदानप्रदानको व्यवस्था बनाउने विषयमा छलफल भइरहेको छ।

एआईबारे यस्तो संवाद भने पहिलोपटक हुन लागेको होइन। २०२३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडन र सीबीचको भेटपछि एआईको जोखिम र सुरक्षासम्बन्धी सरकारी तहको संवाद अघि बढाइएको थियो। २०२४ मा जेनेभामा दुवै देशका अधिकारीबीच यस विषयमा औपचारिक छलफलसमेत भएको थियो। अहिलेको प्रस्तावित संयन्त्रले एआईबाट उत्पन्न हुन सक्ने गम्भीर सुरक्षा घटनालाई व्यवस्थापन गर्ने प्रयासलाई नयाँ चरणमा लैजान सक्छ।

ताइवान पनि वार्ताको संवेदनशील विषय हुनेछ। चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ भने अमेरिकाले ताइवानलाई रक्षा सामग्री बिक्री गर्दै आएको छ। अमेरिकी प्रशासनले ताइवानका लागि ठूलो मूल्यको हतियार बिक्री स्वीकृत गरिसकेको छ भने अर्को ठूलो प्याकेज लामो समयदेखि रोकिएको छ। चीनले यस्तो हतियार बिक्रीको विरोध गर्दै आएको छ। त्यसैले ताइवानसम्बन्धी अमेरिकी नीति र रक्षा सम्झौता सीको एजेन्डामा महत्वपूर्ण विषय बन्न सक्नेछ।

त्यस्तै, इरान र मध्यपूर्वको अवस्था पनि वार्तामा उठ्न सक्नेछ। चीन र इरानबीच रणनीतिक सम्बन्ध छ। अमेरिकाले इरानमाथि चीनको प्रभाव प्रयोग गर्न चाहेको हुन सक्ने भए पनि चीनले त्यसमा कस्तो भूमिका खेल्छ भन्ने स्पष्ट छैन। इरानसँगको सम्भावित वार्ता, स्ट्रेट अफ होर्मुजको गतिरोध तथा मध्यपूर्वमा जारी द्वन्द्वबारे पनि दुई नेताबीच कुराकानी हुन सक्नेछ।

रुस पनि अप्रत्यक्ष रूपमा छलफलको विषय बन्न सक्नेछ। चीनले आफ्नो ऊर्जा आवश्यकताको एउटा हिस्सा रुसबाट पूरा गर्ने भएकाले रुससँगको सम्बन्ध अमेरिका–चीन रणनीतिक सम्बन्धको व्यापक छलफलसँग जोडिन सक्छ।

ट्रम्प र सीबीचको सम्बन्धमा सार्वजनिक रूपमा देखिने मैत्रीपूर्ण संकेतका बाबजुद दुवै देशबीच आर्थिक, प्राविधिक र रणनीतिक प्रतिस्पर्धा कायमै छ। त्यसैले आजको भेटमा तत्कालै सबै विवाद समाधान गर्नेभन्दा पनि व्यापारिक तनाव नियन्त्रणमा राख्ने, एआईजस्ता नयाँ क्षेत्रमा जोखिम व्यवस्थापन गर्ने र ताइवान तथा मध्यपूर्वजस्ता संवेदनशील विषयमा संवाद कायम राख्ने प्रयास महत्त्वपूर्ण हुनेछ।

वार्तापछि संयुक्त पत्रकार सम्मेलन वा एउटै संयुक्त वक्तव्यको सट्टा दुवै देशले आ-आफ्ना धारणा समेटिएका छुट्टाछुट्टै घोषणा जारी गर्ने अपेक्षा गरिएको छ। यसले दुई नेताबीचको भेटमा सहमतिको क्षेत्रसँगै बाँकी मतभेदलाई पनि स्पष्ट पार्नेछ।

(एजेन्सीहरुबाट)