• २०८३ असोज ८
  • 2026 September 24, Thursday

पूर्वराष्ट्रपति भण्डारी अब एमालेको वरिष्ठ नेता

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ। बिहीबार बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव अघि सारेको थियो भने त्यसलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका थिए। केन्द्रीय कमिटीले प्रस्ताव अनुमोदन गरेसँगै भण्डारी एमालेको वरिष्ठ नेताका रूपमा पार्टी राजनीतिमा पुनः सक्रिय हुने बाटो खुलेको छ।

पार्टीको निर्णयअनुसार भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा राखिएको छ। यसअघि सचिवालय बैठकबाट आएको प्रस्ताव ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरिएको थियो।

भण्डारी एमालेकी पूर्वउपाध्यक्षसमेत हुन्। राष्ट्रपति बन्नुअघि उनी पार्टी राजनीतिमा सक्रिय थिइन्। दुई कार्यकाल गरी सात वर्षभन्दा बढी राष्ट्रपति पदमा रहेपछि उनी पुनः एमालेमै रहेर राजनीतिक गतिविधिमा फर्किने तयारीमा थिइन्। उनले पार्टी सदस्यता नवीकरण गरे पनि केही समय त्यसलाई अघि बढाइएको थिएन।

राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेको व्यक्ति सक्रिय दलको राजनीतिमा फर्कन मिल्ने वा नमिल्ने विषयलाई लिएर एमालेभित्र विगतमा बहस भएको थियो। यही कारण भण्डारीको पार्टी सदस्यता नवीकरण तत्काल अघि बढ्न नसकेको थियो। गत फागुनको निर्वाचनपछि पार्टीभित्र भएको समीक्षा र त्यसपछि सदस्यता खुलाउने निर्णयसँगै उनको पार्टी गतिविधिमा फर्किने प्रक्रिया पनि सहज बनेको हो।

भण्डारीले यसअघि नै एमालेको राजनीतिमा पुनः सक्रिय भएर नेतृत्वदायी भूमिकामा आउने इच्छा व्यक्त गर्दै आएकी थिइन्। पछिल्लो निर्णयसँगै उनलाई औपचारिक रूपमा पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ।