• २०८३ असोज ८
  • 2026 September 24, Thursday

एमाले केन्द्रीय कमिटीमा २९ नेता मनोनीत, सात जना स्थायी कमिटीमा

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना नेता मनोनीत गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमार्फत अघि सारेको नामलाई जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको थियो।

१० प्रतिशत सदस्य मनोनयनको कोटाअन्तर्गत काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम डंगोल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत र नन्दलाल देवकोटासहितका नेता केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

त्यस्तै पाल्तेन शेर्पा, जी. गुरुङ, पुष्पा श्रेष्ठ, विनोद पाण्डे, जानुका सिम्खडा, कौशला खत्री, महमुद इष्त्याक राई, प्रमोद यादव, डा. अब्दुल हुसेन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज विष्ट, अर्जुन राई र धर्म गिरी पनि मनोनीत भएका छन्।

यसैबीच एमालेले केही नेताको जिम्मेवारी स्थायी कमिटी सदस्यका रूपमा समेत तय गरेको छ। ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, काशीनाथ अधिकारी, शिवमाया तुम्बाहाम्फे, थममाया थापा र बिमला घिमिरेलाई स्थायी कमिटी सदस्य बनाइएको हो।

स्थायी कमिटीमा समेटिएका नेतामध्ये पोखरेल यसअघि ११औँ महाधिवेशनमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका थिए। त्यस्तै ज्ञवाली महासचिवको उम्मेदवार बन्न नपाएपछि केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका थिए। देवराज घिमिरे भने पूर्वसभामुख हुन्।

पार्टीको सचिवालयबाट प्रस्ताव गरिएका नाममाथि केन्द्रीय कमिटी बैठकबाट निर्णय भएको हो। यससँगै एमालेको केन्द्रीय संरचनामा १० प्रतिशत कोटाबाट नयाँ सदस्यहरू थपिएका छन्।