काठमाडौँ। निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडकखण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
प्रशासनका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइनेछ। जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिनमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामार्फत अत्यावश्यकबाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। यात्रा गर्नैपर्ने अवस्था भए मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन प्रशासनले अनुरोध गरेको छ।
वर्षायाममा नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा बाढी र पहिरोका कारण यातायात प्रभावित हुँदै आएको छ। पछिल्लो समय लगातार वर्षा भइरहेकाले सडक अवरुद्ध हुने तथा पहिरो जाने जोखिम थप बढेको प्रशासनले जनाएको छ। रातिको समयमा सडकको अवस्था तथा सम्भावित जोखिम पहिचान गर्न कठिन हुने भएकाले सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।
प्रशासनले सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशन पालना गर्न तथा मौसम र सडकको अवस्था हेरेर मात्रै यात्रा योजना बनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
